तपाईँ सुन्दै हुनुहुन्छः

३ सय ५८ जनालाई रोजगारी दिलाउने प्रतिबद्धतासहित श्रमाधान रोजगार मेला सम्पन्न

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा दुई दिन चलेको श्रमाधान रोजगार मेला ३ सय ५८ जनालाई रोजगारी दिलाउने प्रतिबद्धत्तासहित सम्पन्न भएको छ ।

श्रमिक र रोजगारदाताहरूलाई जोड्न योजनासहित भएको मेलामा विभिन्न व्यवसायीक, कर्पोरेट हाउसहरूबाट उक्त सङ्ख्यामा रोजगारी दिलाउने प्रतिबद्धता प्राप्त भएको श्रम रोजगार कार्यालय पोखराका प्रमुख सुरेश ढकालले बताउनुभयो । पोखराको घराना ग्रुप लक्ष्मी हाउस, नेपालकै चर्चित घराना समूह सि.जी.ग्रुप, सूर्य नेपाल, होंसी सिमेन्ट लगायतले रोजगारी दिने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो ।

होटल क्षेत्रमा सबै भन्दा बढी कामदारको माग भएको प्रमुख ढकालले जनाउनुभयो । उहाँका अनुसार मेलामा १३ हजार ३ सय १२ जनाले स्टलको अवलोकन गर्नु भयो ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय–गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घको सह आयोजना र होटल संघ नेपाल (हान) को संयोजनमा उक्त मेला भएको हो ।

श्रमिक तथा रोजगारदाताहरूलाई जोड्ने, रोजगारदाताहरू तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर नेटवर्किङ र रोजगारीको लागि अनुकूल वातावरण सृजना गर्ने उद्देश्य समेत मेलाको रहेको आयोजककाे भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button