घाँसका बिरुवाबाट मनग्य आम्दानी गर्दै नेपाली
गुल्मी । लामो समय विदेश बस्नुभएका गोकर्ण नेपाली स्वदेश फर्किएपछि व्यावसायिक घाँस खेती गर्दै आउनुभएको छ ।
सानै उमेरमा विदेशको मेहनत र दुःख बुझ्नुभएका नेपाली पछिल्लो ५ वर्ष यता घाँसका बिरुवाको व्यावसायिक उत्पादन गदै आउनुभएको छ ।

जिल्लाको इस्मा गाउँपालिका–३ गहतेका गोकर्ण नेपालीले घाँस बेचेरै मनग्य आम्दानी गर्दै आउनुभएको छ । खाडी मुलुकमा जानुको सट्टा आफ्नै बाझिँएको खेतबारीमा आएर काम गर्न सके राम्रो आम्दानी हुने उहाँको भनाइ छ । सुरुमा ८० हजार रुपैयाँमा घाँस खेती सुरु गर्नुभएका नेपालीले अहिलेसम्म ५० लाख बढी लगानी गरिसक्नुभएको छ ।

नेपालीसँग अहिले इपील, राइखन्यु र नेपियर लगायत १०० प्रकारका घाँसहरू छन् । घाँसका बिरुवा गत वर्ष नेपालका ५२ जिल्लामा पुगेका थिए । माग धेरै आउन थालेसँगै यस वर्ष ३ लाख बढी घाँसका बिरुवा उत्पादन भएका छन् । उहाँले कुल १ सय २० रोपनी जग्गामा घाँस खेती गर्नुभएको छ । ८० रोपनी आफ्नै ४० रोपनी जग्गा लिजमा लिएको उहाँले बताउनुभयो ।

नेपालीलाई स्थानीय सरकारदेखि विभिन्न सरकारी निकायले साथ दिएका छन् । उहाँलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीले समेत सहयोग गरेको कार्यालय प्रमुख गंगा पोखरेलले बताउनुभयो ।

नेपालीले ग्यालेक्सी कृषि तथा पशुपंक्षी फर्मबाट रोजगारी समेत सिर्जना भएको छ । औसतमा दैनिक ८ जनाले फर्ममा रोजगार पाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्