तपाईँ सुन्दै हुनुहुन्छः

बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) सँगको सहकार्यमा बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ ।

त्यस अवसरमा चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिँदै  चिनियाँ समुदायलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न त्यहाँका पर्यटन व्यवसायीलाई अनुरोध गर्नुभयो ।  नेपालको आर्थिक विकासको प्रमुख माध्यम पर्यटन उद्योग भएकाले यस क्षेत्रको विकासमा चिनियाँ उद्यमीहरूसँगको सहकार्य फलदायी हुने बताउनुभयो । 

बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार सोमबार भएको उक्त कार्यक्रममा होटल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहले नेपालको  पर्यटन उद्योग तथा उपलब्ध सुविधाबारे जानकारी दिनुभएको थियो । 

नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले नेपालको पर्यटन सम्भाव्यतालाई केन्द्रमा राखेर ‘नेपाल गन्तव्य’ शीर्षकमा प्रस्तुति दिँदै नेपाल र चीनका पर्यटन व्यवसायीबीच निरन्तर सम्पर्क स्थापित हुनुपर्नेमा जोड दिनुभयो । 

उक्त कार्यक्रममा नेपाली भूमिबाट  सगरमाथा आरोहण गरेका १५ चिनियाँ पर्वतारोहीलाई सम्मान गरिएको थियो । चाइना एसोसिएसन इन ट्राभल सर्भिसका प्रतिनिधिसहित दुई सयभन्दा बढी नेपाली र चिनियाँ पर्यटन व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधि सहभागी थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button