सम्पदाको संरक्षणमा जुट्यो कर्णाली सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकार प्राचीन सांस्कृतिक सम्पदाको संरक्षणमा जुटेको छ ।
परम्परागत भौतिक एवं अभौतिक सांस्कृतिक सम्पदाहरूको अध्ययन तथा संरक्षण गरी एक अर्कामा सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गराइ सामाजिक मर्यादा अभिवृद्धि गर्नका लागि सांस्कृतिक सम्पदाको संरक्षणमा प्रदेश सरकार जुटेको हो ।
प्रदेश सरकारले नागरिकको मागमा आधारित प्राचीन सांस्कृतिक सम्पदाको संरक्षण, व्यवस्थापन तथा विकास निर्माण कार्य अघि बढाएको छ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत डिभिजन वन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगर–१०, स्थित नयाँ घुस्रामा गोरखानाथ मन्दिरको जीर्णद्वार, बाउण्डरी, तथा फिर्निसिङको काम गरिएको डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँले १५ लाख रुपैयाँको लागतमा अढाई कट्टा क्षेत्रफलभित्र फैलिएको गोरखनाथ मन्दिरको अघिल्लो आर्थिक वर्षमा समेत गरी हालसम्म ३५ लाख रुपैयाँ प्रदेश सरकार लगानी भएको बताउनुभयो ।

गोरखनाथ मन्दिर निर्माण समितिका अध्यक्ष भूपेन्द्रनाथ योगीले अपुग रकम विभिन्न दाता र सहयोगी मनहरूमार्फत २२ लाख रुपैयाँ सङ्कलन गरी मन्दिरको जीर्णद्धारमा खर्च भएको जनाउनुभयो । उहाँले अझैपनि मुल गेट निर्माण तथा जमिन सम्याउनका लागि दातासँगै प्रदेश सरकारसँग थप रकम सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
डिभिजन वन कार्यालयका ईन्जिनियर रविन महतले सहरलाई सांस्कृतिक एकताको सूत्रमा गाँस्न १५ लाख रुपैयाँ लागतमा वीरेन्द्रनगरकै १० नम्बर वडास्थित रहरपुर शिव मन्दिरको जीर्णद्वार, वाल तथा ब्लक निर्माण, चौतारा निर्माण, सडक मर्मतसँगै १०८ वटा शिव लिङ्ग निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले वीरेन्द्रनगर–१४, सिद्धपाईलामा १५ लाख रुपैयाँको लागतमा शिव मन्दिरको जीर्णद्वारसँगै रिटेलिङ वाल, सिडी निर्माण, रेलिङ र पेटी निर्माण गरिएको बताउनुभयो ।

उहाँका अनुसार वन कार्यालयले अहिले सांस्कृतिक सम्पदाहरूको महत्वका आधारमा तिनीहरूको संरक्षण र व्यवस्थापन गर्दै नागरिकसँगको हातेमालो अभियानलाई तीव्रता दिएको छ ।
यसैबीच जिल्ला समन्वय प्रमुख गङ्गाराम सुनारको नेतृत्वमा प्रदेश सरकारले गरेको लगानीमा तीन वटै मन्दिरको जीर्णद्वार मर्मत तथा निर्माण कार्यको अनुगमन गरिएको छ ।
अनुगमनमा तीन वटै मन्दिरको जीर्णद्वार मर्मत तथा निर्माण कार्य सन्तोषजनक पाइएको समन्वय प्रमुख सुनारले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्