श्रममन्त्री अर्याल र जापानिज राजदूतबिच भेटवार्ता
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि जापानिज राजदूत किकुता यूताकाबीच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटवार्ताका क्रममा दुई पक्षीय श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल भयो ।

छलफलमा श्रममन्त्री अर्यालले वर्तमान अवस्थामा नेपाली युवाको लागि वैदेशिक रोजगारी बाध्यता भएको बताउनुभयो । जापान नेपाली श्रमिकको लागि आकर्षण र सुरक्षित गन्तव्य भएको उहाँले उल्लेख गर्नुभयो। नेपाली श्रमिक नठगिने गरी न्यूनतम सेवा शुल्कमा डिजिटल प्रविधिको प्रयोग गरी नेपाली कामदार जापान पठाउने चाहेको उहाँले बताउनुभयो ।

स्वदेशमा नै रोजगारीका अवसर उपलब्ध गराउने र त्यस्ता अवसर पर्याप्त नभए भाषा सीप सिकेर अनुकूल मौसम र सुरक्षित वातावरण भएका जापान जस्ता मुलुकमा नेपालीहरूलाई रोजगारीका लागि पठाउने मनसाय रहेको उहाँले बताउनुभयो ।
भेटमा जापानी राजदूत KIKUTA Yutaka ले नेपाल जापान श्रम सम्बन्धका विविध विषयमा यसरी खुल्ला छलफल गर्न पाएकोमा मन्त्री अर्याललाई धन्यवाद दिनुभयो । उहाँले कामदारका लागि थप सहजीकरण दूतावास तयार रहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्