गोरखाको छेकम्पार स्थित ङुइला नाका असार देखि सञ्चालनमा आउने

गोरखा । कोरोना सङ्क्रमणलाई कारण देखाउँदै बन्द रहेको बिगत पाँच वर्षदेखि बन्द रहेको उत्तरी गोरखाको ङुइला नाका असार देखि सञ्चालनमा आउने भएको छ ।
२०७६ पुस महिनादेखि चिनियाँ सरकारले एकतर्फी रुपमा बन्द गरेको चुमनुब्री ७ छेकम्पार र तिब्बत जोड्ने ङुइला नाका उद्घाटन गरिएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
केही दिनअघि तिब्बतको जोङ्गास्थित स्या सहरमा औपचारिक कार्यक्रम आयोजना गरी नाकाको उद्घाटन गरिएको उहाँले बताउनुभयो ।
जिल्लाको चुमनुब्री-१ मा रुइला नाका र वडा नं-७ मा ङुइला नाका छन् । दुईमध्ये हाल एउटा मात्र खुलाइएको छ । नाका खुलेसँगै तिब्बतको स्या सम्म जान पाइने भएको हो ।
वडा नम्बर १ सँग जोडिएको रुइला नाका पनि खुलाउने सरकारी निर्णय भैसकेको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाको भनाइ छ ।
तिब्बतको नाका खुलेसँगै यस क्षेत्रका मानिसहरूलाई दैनिक उपभोग्य वस्तु चिनियाँ बजारबाट सुलभ मूल्यमा प्राप्त गर्न सहज हुनेछ ।
विगत पाँच वर्षदेखि यस क्षेत्रको नाका बन्द हुँदा यहाँका नागरिकहरू तल्लो क्षेत्रबाट समान ओसार्दा महँगीमा पर्दै आएका थिए । नाका खुलेसँगै धेरै कुराको सहज हुने छेकम्पारबाट घयुर्मे लामाले बताउनुभयो ।
बिहान गयौँ भने ङुइला पुगेर किनमेल गरी बेलुका घर फर्कन्छौँ, नाका नखुल्दा समस्या थियो, नाका खुल्ने खबरले खुशी छौँ अर्का स्थानीय फुञ्जो लामाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्