तपाईँ सुन्दै हुनुहुन्छः

बुद्धजयन्ती यसरी मनाइदैछ लुम्बिनी क्षेत्रमा, प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिहरू लुम्बिनीमा

प्रम दाहाल-दीप प्रज्वलन भैरहवा(रुपन्देही), ९ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ बुधबार बुद्ध जयन्तीको पूर्व सन्ध्यामा लुम्बिनीस्थित मायादेवी मन्दिरमा दीप प्रज्वलन गर्दै । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस

रुपन्देही । २५६८ औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवसमा बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देही, कपिलवस्तु र नवलपरासीमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

प्रधानमन्त्री दाहाल भैरहवा(रुपन्देही), ९ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ लगायत बुधबार बुद्ध जयन्तीको पूर्व सन्ध्यामा नेपालका लागि भारतीय दूतावासले लुम्बिनीमा आयोजना गरेको चित्रकला प्रदर्शनी एवम सांस्कृतिक कार्यक्रममा सहभागी हुन जाँदै । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस

लुम्बिनी दिवस भव्यताका साथ मनाउन लुम्बिनी विकास कोषले तीनै जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसहित उच्च पदस्थ व्यक्तिहरू बुधबार नै लुम्बिनी आइसक्नुभएको छ । प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा ‘२५६८ औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस’ विशेष समारोह रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष उपाध्यक्ष डा. ल्हारक्याल लामाले जानकारी दिनुभयो ।

प्रम दाहाल-उद्घाटन लुम्बिनी, ९ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ बुधबार बुद्ध जयन्तीको अवसरमा भारतीय दूतावास र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा लुम्बिनीमा आयोजित फोटो प्रदर्शनी तथा सांस्कृतिक साँझको उद्घाटन गर्दै। तस्बिर प्रदीपराज वन्त/रासस

उहाँले बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव भएको र आफू लुम्बिनी बनाउने सङ्कल्पका साथ लुम्बिनीमा आएको बताउनुभयो । उहाँले बुद्धजयन्तीलाई अन्तर्राष्ट्रिय रूपमा सन्देश दिने गरी मनाइने र यसका लागि प्रधानमन्त्री दाहालसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, प्रतिनिधिसभा, प्रदेशसभाका माननीय सदस्यहरूसहित उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोग, विदेशी पाहुनाहरू लुम्बिनीमा बुधबार नै आइसकेको जानकारी दिनुभयो ।

लुम्बिनी, ९ जेठ : मायादेवी मन्दिर परिसरमा ध्यान गर्दै भिक्षु बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बुधबार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा ध्यान गर्दै गरेका विभिन्न देशबाट आएका बौद्ध भिक्षु र बौद्ध धर्मालम्बी। तस्बिर : प्रदीपराज वन्त/रासस

कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीसहित रामग्राम, कपिलवस्तु र देवदहमा समेत विविध कार्यक्रम रहेको, हिजो बुधबार साँझ भारतीय दूतावाससँगको साझेदारीमा साँस्कृतिक कार्यक्रम, मायादेवी परिसरमा अहोरात्र महापरित्राण पाठ गरिएको बताउनुभयो ।मूल समारोहका दिन जेठ १० गते आज बिहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरूको सहभागितामा प्राथनासभा सुरु भएको छ भने बिहान शोभा यात्राको तयारी भएको छ । त्यसैगरी आजै नेपाल, भारत र श्रीलङ्कासम्म पुग्ने गरी त्रिदेशीय मोटरसाइकल यात्रासमेत शुभारम्भ हुने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले बताए ।

लुम्बिनी, ९ जेठ : प्रम दाहाल-उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ बुधबार बुद्ध जयन्तीको अवसरमा भारतीय दूतावास र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा लुम्बिनीमा आयोजित फोटो प्रदर्शनी तथा सांस्कृतिक साँझको उद्घाटन गर्दै। तस्बिर प्रदीपराज वन्त/रासस

बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राममा पण्डितपुरदेखि रामग्रामसम्म अस्तु यात्रा, प्राचीन तिलौराकोट दरबारमा र देवदहमा पनि बुद्धजयन्तीमा कोष र स्थानीय तहहरूले सहकार्य गरेको जनाइएको छ । कोषले भगवान् बुद्धको महत्व दर्शाउनका लागि देवदह नगरपालिकामा, नवलपरासीको रामग्राम नगरपालिका, कपिलवस्तुको कपिलवस्तु नगरपालिकासहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लावासीहरूलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न विकास कोषले अपिल गरेको छ ।बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्सेनि सार्वजनिक बिदा दिँदै आएको छ ।

लुम्बिनी, ९ जेठ : प्रम दाहाल-अवलोकन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बुद्ध जयन्तीको पूर्व सन्ध्यामा भारतीय दूतावास र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा लुम्बिनीमा आयोजित चित्रकला प्रदर्शनीको अवलोकन गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button