तपाईँ सुन्दै हुनुहुन्छः

बजेट ल्याउने तयारीमा जुट्दै लुम्बिनी प्रदेश सरकार

गत वर्ष भन्दा बजेट घट्ने: मन्त्रालय

दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट तयारी सुरु गरेको छ । यसका लागि मन्त्रालयगत तथा विभिन्न निकायसँग बजेटका बारेमा छलफल भइरहेको अर्थ मन्त्रालयका उप सचिव सुरेन्द्र पाण्डेले जानकारी दिनु भयो ।

मन्त्रालयले पूर्व बजेटका बारेमा छलफल गर्ने काम गरिराखेको उनको भनाइ छ । मन्त्रालयहरूलाई बजेटको सिलिङ समेत दिएको उहाँले बताउनु भयो ।

‘हामी आउँदो आर्थिक वर्षका लागि बजेटको तयारीमा छौँ,’ उपसचिव पाण्डेले भन्नु भयो। कर्मचारीको तर्फबाट बजेटको काम भइरहेको उहाँले बताउनुभयो। नीतिगत रूपमा राजनीतिक नेतृत्वबाट अगाडि बढाइने छ । तर राजनीतिक नेतृत्व जोगाउन प्राथमिकता दिएको देखिन्छ । यसले गर्दा बजेटको कामले प्राथमिकता नपाएको हो । केही दिनमा नीति कार्यक्रमको टुङ्गो लगाएर सरकारले नीति कार्यक्रम ल्याउने अर्थ मन्त्रालयले जनाएको छ । मुख्य सचिव आएपछि काम अगाडि बढाइने मन्त्रालयले बताएको छ ।नयाँ मुख्य सचिव आई नसकेको कारण प्रदेश सरकार अहिले मुख्य सचिवविहीन रहेको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा कम बजेट ल्याउने तयारी गरेको बताइएको छ । स्रोतको व्यवस्थापन गरेर त्यसै अनुसार बजेट ल्याउने बताइएको हो । मन्त्रालय स्रोतका अनुसार आउँदो आर्थिक वर्षका लागि करिब ३० अर्ब बजेट ल्याउने तयारी गरिएको छ । संघीय सरकारले प्रदेश सरकारलाई चालु आर्थिक वर्षका लागि २० अर्ब बजेट पठाउने भनेर जानकारी गराएको मन्त्रालय स्रोतले बतायो ।यसमा थप प्रदेश सरकारको राजस्व अनुमान गरेर बजेट निर्माण गरिने भएको छ । यतिबेला प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि बजेटको काम तीव्र रूपमा अगाडि बढ्नु पर्ने समय हो ।तर, त्यसअनुसार अगाडि बढ्न सकेको छैन ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले लिएको राजस्व लक्ष्य अनुसार सङ्कलन हुन नसकेपछि आगामी आर्थिक वर्षमा बजेट घटाएर ल्याउने प्रदेश सरकारको तयारी छ । समयमै बजेट निर्माणको काम हुन नसक्दा हतारमा काम गर्नुपर्ने भएकाले पर्याप्त मात्रामा गृहकार्य तथा छलफल समेत हुन नसक्ने देखिएको छ ।

संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले प्रदेश सभामा असार १ गते बजेट पेश गर्नुपर्छ । त्यसभन्दा पहिले नीति कार्यक्रम ल्याउने गरिन्छ । संघीय सरकारले जेठ १५ मा संसदमा बजेट पेश गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button