प्रदेश सरकारको पहिलो प्राथमिकता सुशासन : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको पहिलो प्राथमिकता सुशासन रहेको बताउनुभएको छ ।
मन्त्रीपरिषद् विस्तारपछि सञ्चार कर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले प्रदेश संरचना अनुसार नेपाली जनताले अनुभूति गर्ने गरी सरकारले वार्षिक नीति तथा कार्यक्रममा ल्याउन लागेको र अबको वार्षिक नीति तथा कार्यक्रमले सुशासनलाई जोड दिने बताउनुभयो ।
एक प्रश्नमा उहाँले अहिलेको सत्ता समीकरण कुनै पनि हालतमा नटुट्ने दाबी गर्नुभयो । विशेष परिस्थितिमा निर्माण भएको समीकरण साँढे तीन वर्षसम्म चल्ने र निर्वाचनपछि पनि कायम रहने उहाँको भनाई थियो ।
नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री कार्कीले प्रदेश संरचनालाई स्थापित गर्न सबै दलहरूबिच सहमति र सहकार्य आवश्यक रहेको बताउनुभयो । दलहरुबीच सहकार्य हुने गरी सहमति कायम गर्न प्रदेश सरकार तयार रहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्