राष्ट्रिय पुँजीको विकास बिना समाजवादमा जान सकिँदैन : मुख्यमन्त्री अधिकारी
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय पुँजीको विकास बिना समाजवादमा जान नसकिने बताउनुभएको छ ।
बुधबार नेकपा एमाले कास्कीको आयोजनामा पोखरा १६ खोलाखेत स्थित मदन–आश्रित स्मृति पार्कमा आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय पुँजीको विकास बिना समाजवादमा जान नसकिन दाबी गर्नुभयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/05/0-1-1024x473.jpg)
जनताको बहुदलीय जनवादले पुँजीवादी जनवादमा मात्र नभएर समाजवादमा पनि दलीय प्रतिस्पर्धालाई खुला गरेको उहाँको भनाई थियो । जननेता मदन भण्डारीको विचारलाई अनुसरण गर्दै उहाँको सपना साकार पार्नुपर्ने अधिकारीले बताउनुभयो ।
नेकपा एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको सचिव दर्शन लामाले जनाउनुभयो ।
कास्कीको जिल्ला अधिवेशन उद्घाटन गरेर फर्कने क्रममा २०५० साल जेठ ३ गते दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो ।
एमाले कास्कीले स्मृति दिवसको अवसरमा बिहीबार जिल्ला पार्टी कार्यालयमा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा मदन आश्रितको योगदान विषयक’ प्रवचन कार्यक्रमको आयोजना गरेको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्