बिद्यालय बन्द गरेर शिक्षक–विद्यार्थी लेकतिर
बझाङ । यार्सा सङ्कलन गर्न शिक्षक–विद्यार्थी लेकतिर गएपछि साइपाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन् ।
गाउँपालिकाभरिका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा सङ्कलनका लागि लेक उक्लिएपछि कक्षा सञ्चालन गर्ने अवस्था नहुँदा विद्यालय बन्द भएका हुन्। यार्सा सङ्कलनको सिजन सुरु भएकाले वैशाख २४ गतेदेखि असार १ गते सम्म पालिकाभरिका विद्यालय बन्द गरिएको साइपाल गाउँपालिकाका शिक्षा संयोजक खडक बहादुर बुढाले बताउनुभयो । अभिभावक, शिक्षक र विद्यार्थी सबैजसो विद्यालय छोडेर जडीबुटी सङ्कलनका लागि लेकतिर जाने भएकाले कम्तीमा तिन साताका लागि विद्यालय बन्द गरिएको उहाँले बताउनुभयो । गाउँपालिका शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूको अन्तरक्रियाबाट बर्खे र हिउँदे बिदामा मिलान हुने गरी यार्सा सङ्कलनको समयमा बिदा गरिने समझदारी भएको बुढाले बताउनुभयो ।
जडीबुटी सङ्कलन गरिने यो सिजनमा यहाँ हरेक वर्ष अधिकांश विद्यालय बन्द हुने गरेका छन् । गाउँपालिकाभरिका ९ वटा सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी सङ्कलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन् । अन्न उत्पादन कम हुने स्थानीयले जेठ–असारमा सङ्कलन गरिने जडीबुटी बेचेर वर्षभरिको खर्च चलाउँदै आएका छन् । त्यसका लागि कतिपय घरमा ताल्चा लगाएर लेकतिर जाने गरेको धलौन माध्यमिक विद्यालय धलौनका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बसन्त बोहराले बताउनुभयो ।
यार्सा सिजन सुरु भएसँगै जिल्लाका साइपाल, सुर्मा, मष्टा, छविसपाथिभेरा गाउँपालिका र बुंगल नगरपालिका लगायतका बासिन्दा लेक उक्लिने चटारोमा रहेको स्थानीय घुरन बोहराले बताउनुभयो । साइपाल गाउँपालिकाले वैशाख २४ गतेबाट यार्सा सङ्कलन गर्नुपर्ने सूचना जारी गरे पनि स्थानीय वैशाख दोस्रो सातादेखि नै लेकतिर गइसकेका छन् ।
प्रतिक्रिया राख्नुहोस्