तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखद्वारा  संवैधानिक संकट आउनेतर्फ दलहरूलाई ध्यानाकर्षण

काठमाडौँ । सभामुख देवराज घिमिरेले निर्बाध रुपमा सदन सञ्चालनको वातावरण बनाउने विषयमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफलमा उहाँले दलहरुबीच सहमति नहुँदा आगामी बैठक प्रभावित हुने अवस्था आएकामा चिन्ता व्यक्त गर्नुभएको थियो । 

सभामुख घिमिरेले दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरू र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नभएको बताउनुभयो । बैठक अवरुद्ध हुँदा संसद्का बिजनेश प्रभावित तथा संवैधानिक सङ्कटको अवस्था सिर्जना हुनेतर्फ उहाँले दलहरूको ध्यानाकर्षण गराउनुभएको थियो । 

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति माग गर्दै संसद्का बैठकमा अवरोध गर्दै आएको छ । सो दलले राष्ट्रपति रामचन्द्र पौडेलबाट आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आवको नीति तथा कार्यक्रमको प्रस्तुत गर्न दिने र त्यसपछिका बैठकमा विरोध जारी रहने जनाएको छ । 

कांग्रेसका सचेतक सुशीला थिङले काँग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने सभामुखलाई जानकारी गराउनुभयो । “छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ”, उहाँले भन्नुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार संसद्मा विरोध गर्ने निर्णयलाई काँग्रेसले पुनर्विचार गर्नुपर्नेमा जोड दिनुभएको थियो । “उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो, अवरोधका कारण बोल्न पाउनुभएको छैन । आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्छ”, सभामुखसँगको छलफलमा उहाँले भन्नुभयो ।

छलफलमा सभामुखले आजको संयुक्त सदन र प्रतिनिधिसभाको बैठकका कार्यसूचीबारे जानकारी दिनुभएको थियो । उहाँले नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे पनि जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button