तपाईँ सुन्दै हुनुहुन्छः

अन्नपूर्ण गाउँपालिकालाई पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि

पोखरा । कास्की जिल्ला तेस्रो अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि साविक विजेता अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा रंगशालाको भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनल खेलमा अन्नपूर्णले माछापुच्छ्रे गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

अन्नपूर्णले २५–१५, २५–१६ र २५–१९ को सोझो सेटमा माछापुच्छ्रेमाथि जित हासिल गर्दै दोस्रो पटक उपाधि रक्षा गरेको हो । उपाधिसँगै अन्नपूर्ण नगद रु १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ त्यस्तै उपविजेता माछापुच्छ्रेले नगद रु ६० हजारका साथमा ट्रफी मेडल तथा प्रमाणपत्र हात पारेको हो ।

कास्की जिल्ला भलिबल सङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा पोखरा महानगर र रुपा गाउँ पालिकाले सान्त्वना स्वरूप नगद १०–१० हजार प्राप्त गरेको कास्की भलिबल संघका अध्यक्ष विष्णु बहादुर गुरुङले बताउनुभयो ।

प्रतियोगितामा अन्नपूर्णका मिलन विक सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार प्राप्त गर्नुभयो । त्यसैगरी उत्कृष्ट सेटरमा बल बहादुर गुरुङ, पोखरा महानगरका विजय परियार उत्कृष्ट सर्भर, माछापुच्छ्रेका मनोज खड्का उत्कृष्ट स्पाइकर, अन्नपूर्णका आकाश धमाल उत्कृष्ट ब्लकर, निरोज धमाल उत्कृष्ट डिफेन्डर, सुनिल धमाल उत्कृष्ट प्रशिक्षक घोषित हुँदै नगद २ हजार पाँच सयका साथमा प्रमाणपत्र प्राप्त गर्नुभयो ।

प्रतियोगितामा विजेता खेलाडीहरूलाई रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसी र माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले नगद, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button