नागरिकको सेवा प्राप्त गर्ने अधिकारलाई प्रभावित पार्नु हुँदैन: गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकार परिवर्तनले नागरिकको सहजरुपमा सेवा प्राप्त गर्ने अधिकारलाई प्रभावित पार्न नहुने बताउनुभएको छ ।
राष्ट्रिय सभा,सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको विपद् व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयबाट भएका कामकारबाहीबारे छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री लामिछानेले सेवा प्रवाह र नागरिकको जीउ धनको रक्षा गर्नु राज्यको दायित्व भएकाले सरकार परिवर्तनको असर सेवा प्रवाहमा पर्न नुहुने बताउनुभयो ।
गृहमन्त्री लामिछानेले इच्छा शक्ति भएमा बजेटको सिलिङले नरोक्ने भन्दै सातवटै प्रदेशमा एयर एम्बुलेन्स आजको आवश्यकता भएको बताउनुभयो । गृहमन्त्री लामिछानेले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन राहत ,उद्धार,क्षतिपूर्ति र उपकरण खरिद प्रक्रियालाई सरलीकृत गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राधिकरणसँग पर्याप्त बजेट नुहुँदा अपेक्षित लक्ष्य हासिल हुन नसके पनि डढेलो नियन्त्रण,भूकम्प पछिको राहत,उद्धार र पुनर्स्थापनाको कार्य नियमित रुपमा भइरहेको जानकारी दिनुभयो ।
कार्यकारी प्रमुख पोखरेलले जोखिम न्यूनीकरणका लागि भौतिक संरचनाको बिमा गर्ने प्रणालीको विकास गर्नु पर्ने बताउनुभयो ।
बैठकमा सांसद्हरुले विपद् व्यवस्थापनलाई नतिजामुखी बनाउन नागरिकको नजिकको सरकारका रुपमा रहेको स्थानीयतहको क्षमता र दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्