‘पूर्व मुख्यसचिव शाक्य बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो’

काठमाडौँ । नेपाल कानुन समाजका अध्यक्ष एवं पूर्व मुख्यसचिव स्वर्गीय तीर्थमान शाक्यको बहुआयामिक व्यक्तित्वबारे आज यहाँ चर्चा गरिएको छ ।
नेपाल कानुन समाजद्वारा आज यहाँ आयोजित श्रद्धाञ्जली सभामा सहभागी वक्ताहरूले कानुन मस्यौदा, सार्वजनिक प्रशासन, संवैधानिक अङ्ग र समाजसेवामा उहाँले पुर्याउनुभएको योगदानबारे प्रकाश पार्नुभयो ।
उहाँको यही वैशाख ६ गते ८१ वर्षको उमेरमा निधन भएको थियो । उहाँ लोक सेवा आयोगको पूर्व अध्यक्ष तथा रोटरी क्लब नेपालको डिष्ट्रिक गभर्नरसमेत हुनुहुन्थ्यो । सो अवसरमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानुनमा रूपान्तरण र कानुनी शरीर विज्ञानको विशेषज्ञ एवं खम्बुका रूपमा स्व शाक्यको योगदानलाई स्मरण गर्न सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मुलुकको कानुन तर्जुमाको आधिकारिक व्यक्तिका रूपमा रहनुभएका शाक्य समाजसेवा, कानुन, सार्वजनिक प्रशासन र संवैधानिक अङ्गलाई नेतृत्व प्रदान गर्ने बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो ।”
सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले कानुन मस्यौदा निर्माणमा निपूर्ण शाक्य अदालतको फैसलामा गुणस्तरीयता कायम गर्न तथा न्यायनिरुपणलाई कसरी शीघ्रता गर्न सकिन्छ भन्नेमा सदासर्वदा आफूलाई राय सुझाव प्रदान गर्दै आएको घटना सुनाउनुभयो । उहाँले भन्नुभयो, “सकारात्मक सोच, स्पष्ट वक्ता, तटस्थता र निष्पक्षताका पुजारी पूर्व मुख्यसचिव शाक्य नेपालको कानुनी क्षेत्र र सार्वजनिक प्रशासनका क्षेत्रमा विज्ञताको प्रतिमूर्तिका रूपमा रहनुभएको थियो ।”
पूर्व मन्त्री माधव पौडेलले इजलास सहायकदेखि मुख्यसचिवसम्मको जिम्मेदारीमा रही स्व शाक्यले पेसाप्रति निष्ठाको प्रतीकका रूपमा आफूलाई स्थापित गराउन सफल हुनुभएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “सरल, सालिन र स्पष्ट व्यक्तिका रूपमा रहनुभएका पूर्वमुख्य सचिव शाक्य कानुनको गुणस्तरीय मस्यौदा निर्माणका माध्यमद्वारा मुलुकलाई ठुलो गुन लगाउनुभएको छ ।”
पूर्व मन्त्री अग्निप्रसाद खरेलले विधि र लोकतन्त्र बुझेका शाक्य पञ्चायतदेखि गणतन्त्रसम्म बनेका संविधान र कानुन मस्यौदाका ज्ञाता मात्र नभई निष्ठा, इमान र देशभक्त रहनुभएको बताउनुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्व शाक्यले गर्न सक्ने विषयवस्तु मात्र बोल्न र पोखरी, पार्टी, पौवा जस्ता सम्पदाको संरक्षण गर्न दिएको सल्लाहलाई आफूले सधैँ शिरोधार्य गर्दै आएको बताउनुभयो ।
सो अवसरमा नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान, वरिष्ठ अधिवक्ता पुष्पा भुसाल र कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमले सार्वजनिक प्रशासन र संवैधानिक कानुनको क्षेत्रमा लामो समयसम्म काम गर्दा कुनै प्रश्न चिन्हको घेरामा नपर्नुभएका अध्ययनशील, शालीन र शिल्पी हुनुहुन्थ्यो भन्नुभयो ।
स्व शाक्यका परिवार जनका अतिरिक्त श्रद्धाञ्जली सभामा सर्वोच्च अदालतका पूर्व न्यायाधीशहरू, उच्च अदालतका न्यायाधीश, वरिष्ठ अधिवक्ता र अधिवक्ता, पूर्वमुख्य सचिव, सचिव तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू उपस्थिति हुनुहुन्थ्यो । रासस







प्रतिक्रिया राख्नुहोस्