काउन्सिलद्वारा भूकम्प प्रभावित सञ्चारकर्मीलाई सहयोग

कर्णाली । प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित सञ्चारकर्मीलाई आर्थिक सहयोग गरेको छ ।
इन्टरनेटमा सहुलियत प्रदान गर्न काउन्सिलको मिडिया विकास कोषअन्तर्गत एक सय बढी सञ्चारकर्मी तथा सञ्चार गृहलाई रु ६ लाख सहयोग गरेको हो ।
विसं २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका सञ्चारकर्मी तथा सञ्चारगृह प्रभावित भएका थिए ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य ठाकुर बेल्वासेसहितको टोलीले जाजरकोट र रुकुम पश्चिममा पुगेर सञ्चारकर्मीलाई सहयोग प्रदान गरेको हो ।
अध्यक्ष बस्नेतले काउन्सिलका पदाधिकारी तथा कर्मचारीका तर्फबाट नेपाल सरकार भूकम्प प्रभावित राहत कोषमा तीन दिनको तलब योगदान गरिएको बताउनुभयो । भूकम्प प्रभावित सञ्चारकर्मीका साथमा काउन्सिल रहेको उल्लेख गर्दै उहाँले मिडिया विकास कोषबाट लाभ लिनसमेत आग्रह गर्नुभयो । दुरदराजमा बसेर गरिएको पत्रकारिताबाट समाज रूपान्तरण गर्न सहयोग पुगेको उहाँको भनाइ थियो ।
मिडिया विकास कोष सहायता वितरण कार्यक्रममा अध्यक्ष बस्नेतले काउन्सिलले छिट्टै सञ्चार गृहको सूचीकृत प्रक्रिया अनलाइनबाट गर्न लागिएको जानकारी दिनुभयो ।
काउन्सिलले जाजरकोट र रुकुम पश्चिमका सञ्चार गृहको अनुगमन तथा निरीक्षणसमेत गर्नुका साथै आचारसंहिता जागरणसम्बन्धी कार्यक्रम सञ्चालन गरेको थियो ।









प्रतिक्रिया राख्नुहोस्