तपाईँ सुन्दै हुनुहुन्छः

कृषि उत्पादन बढाउनेलाई अनुदान : मन्त्री ज्वाला

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी शाहले कृषि कर्ममा लगनशील भई उत्पादन बढाउनेलाई सरकारले दिँदै आएको अनुदान रकम पनि वृद्धि गरिने बताउनुभएको छ । 

प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री ज्वालाले दस वर्षसम्म सबैको ध्यान कृषि क्षेत्रमा जाने हो भने कृषिमा आमूल परिवर्तन गर्न सकिने बताउनुभयो । 

कृषिमा  आयातलाई प्रतिस्थापन गर्न कृषिजन्य वस्तुको उत्पादनमा जोड दिनुपर्ने बताउँदै मन्त्री ज्वालाले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा कृषिमा बजेट वृद्धि गरिने प्रतिबद्धता जनाउनुभयो । 

बैठकमा कृषि विकास सचिव डाक्टर गोविन्दप्रसाद शर्माले देशैभर रहेका कोल्ड स्टोरलाई वर्गीकरण गरिन प्रभावकारी रुपमा सञ्चालन गर्न बजेट अभाव हुने गरेको बताउनुभयो । 

बैठकमा सांसदहरुले  वास्तविक किसानका उत्पादनहरू भण्डारण गर्ने ठाउँ नहुँदा मारमा परेको बताउँदै सरकारले हाल सञ्चालित कोल्डस्टोरहरुलाई व्यवस्थित गरिनुपर्नेमा जोड दिनुभयो । 

कृषिजन्य पदार्थ आयातमा रोक लगाउन सके मात्रै आन्तरिक उत्पादनको महत्व बढ्ने भन्दै सांसदहरुले कृषि, उद्योग र ऊर्जा मन्त्रालयले समन्वयन गरेर कृषि मिटर र भण्डारण गृहलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button