तपाईँ सुन्दै हुनुहुन्छः

लालपुर्जा छ, जमिन छैन, वर्षेनी मालपोत मात्रै तिर्छ विद्यालय

डडेलधुरा । पछिल्लो समय डडेलधुरा जिल्लाकै व्यवस्थित र नमुना विद्यालय मानिने भित्री मधेस क्षेत्र परशुराम नगरपालिका– ५ मा रहेको भुवनेश्वरी माविका नाममा लालपुर्जा छ तर जमिन छैन तर पनि मालपोत तिर्न बाध्य छ ।

विद्यालयले वर्षेनी मालपोत तिर्दै आएको छ तर आफ्नै स्वामित्वमा रहेको जग्गा चलनभोग भने गर्न पाएको छैन । विद्यालयको नाममा रहेको जग्गाधनी प्रमाणपत्र हेर्ने हो भने कुल १३४ कित्ताको ८ बिगाहा जमिन विद्यालयको नाममा छ तर विद्यालयले आफ्नै स्वामित्वमा रहेको जग्गाको उपभोग त परै जाओस् कुन कित्ताको जमिन कहाँ निर छ भनेर विद्यालयलाई नै थाहा हुन सकेको छैन । 

विद्यालयको स्वामित्वमा रहेको जमिन हाल १३२ जना स्थानीयले उपभोग गरिरहेको भुवनेश्वरी नमुना माध्यमिक विद्यालय परिगाउँले जनाएको छ । 

विद्यालयको स्वामित्वमा रहेको जमिन उपभोग गरिरहेका स्थानीयले त्यसबापतको केही रकम मात्र भए पनि विद्यालयलाई दिने गरेमा एकातिर विद्यालयको जमिन सुरक्षित हुने र अर्कोतर्फ विद्यालयलाई आर्थिक रूपमा सहयोग हुने विद्यालयका शिक्षक नरेन्द्रबहादुर शाही बताउनुहुन्छ । १३२ वटा टुक्रे जमिनलाई एकमुष्ट बनाउन विद्यालयले गरेको प्रयास नीतिगत समस्याको कारण सफल हुन सकिरहेको छैन ।

विद्यालयको तर्फबाट २०७२ सालमा शिक्षा मन्त्रालयसम्म फाइल पेस गरिएको छ तर नतिजा आउन सकेको छैन । विद्यालयको नाममा रहेको १३२ कित्ता जमिनको वार्षिक १० हजारभन्दा बढी मालपोत तिरिरहेको र विद्यालयको नाममा एकमुष्ट जमिन भइदिएको भए धेरै कुरा गर्न सकिने विद्यालयका प्रधानाध्यापक डम्बरसिंह थ्वाल बताउनुहुन्छ ।

विद्यालयको नाम रहेको चल तथा अचल सम्पत्तिको स्वामित्व तथा खरिद तथा बिक्री गर्न नेपालको विद्यमान कानुन बाधक भएकाले सम्पत्तिको सही सदुपयोग गर्न नसकिएको विद्यालयले जनाएको छ ।

विद्यालयले आप्mनो नाममा रहेको टुक्रे जमिन सम्बन्धित दातालाई विक्री गरेर नयाँ ठाउँमा एकमुष्ट जमिन खरिद गर्न चाहन्छ तर नेपालको कानुनमा एक पटकमा २५ प्रतिशत मात्र जमिन बेच्न पाउने र यसको लागी पनि मन्त्रिपरिषद्ले निर्णय गर्नु पर्ने प्रावधान रहेकोले भुवनेश्वरी नमुना माविले आफ्नो नाममा रहेको जमिनको समुचित प्रयोग गर्न पाइरहेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button