गुल्मीको छत्रकोटमा उखु महोत्सव हुने
गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकामा एक दिने उखु महोत्सव हुने भएको छ । गाउँपालिकाको आयोजनामा वडा नम्बर–४ को दिगाममा वैशाख ७ गते एक दिने उखु महोत्सव हुने भएको हो ।

पालिका भित्रका कृषकले उत्पादन गरेको उखु खेतीलाई प्रवद्र्धन र बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकामा एक दिने उखु महोत्सव गर्न लागिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । गाउँपालिकाले गत वर्ष सुन्तला महोत्सव गरेको थियो ।

पालिकाभित्र मुख्य रुपमा उत्पादन हुने सुन्तला र उखु खेतीले परिचित छ । कृषकलाई उखु खेतीमा आकर्षण र बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाले यस वर्ष उखु महोत्सव गर्न लागेको पालिकाका अध्यक्ष पाण्डेले बताउनुभयो ।
उखुलाई पेल्ने तरिका र गुड खुदो तयार गर्ने तरिकाबारे कृषकले नमूना रुपमा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । छत्रकोट वडा नम्बर–१ हुँगा, वडा नम्बर–३ हर्दिनेटा, वडा नम्बर–४ दिगाम, वडा नम्बर–५ खर्ज्याङ उखु पकेट क्षेत्र हुन् ।

वडा नम्बर–४ का धेरै कृषकहरू उखु खेतीमा लागेका छन् । गाउँपालिकामा ७० मेट्रिक टन खुदो उत्पादन भएको गाउँपालिकाका कृषि शाखा प्रमुख प्रदीप पन्थले बताउनुभयो ।
यहाँका करिब ३ सय जना कृषकले उखु खेती गर्दै आएका छन् । यस क्षेत्रमा उखुबाट बनेको खुदो, गुड बेचेर करिब १ करोडको कारोबार हुने गरेको पन्थले बताउनुभयो ।

अहिले गुडको बजार मूल्य प्रतिकेजी ३०० रुपैयाँ र खुदोको मूल्य १७५ रुपैयाँ रहेको छ । यी क्षेत्रमा किसानले प्रशस्त मात्रामा उखु खेती गर्दै आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्