तपाईँ सुन्दै हुनुहुन्छः

संवैधानिक व्यवस्थाअनुसार नै हिउँदे अधिवेशनको अन्त्य : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार डराएर चालु संसद्को अधिवेशन बन्द गरेको हो भन्ने आरोप निराधार रहेको बताउनुभएको छ ।

चैत्र ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री शर्माले एक संसद्को अधिवेशनबाट अर्को अधिवेशनमा जान संवैधानिक व्यवस्था अनुसार नै केही समय चाहिने हुँदा संसद्को हिउँदे अधिवेशनको अन्त्य गरिएको स्पष्ट पार्नुभयो ।

सञ्चारमन्त्री शर्माले गृहमन्त्री र सहकारी प्रकरणलाई जोडेर चलाइएको हल्ला तथ्यपरक नरहेको र त्यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा स्वयम् गृहमन्त्रीले समेत संसद् र संसदीय समितिमा यस विषयमा स्पष्ट पारिसक्नुभएको बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले देशको आर्थिक अवस्था कठिन अवस्थामा रहे पनि बिस्तारै लयमा फर्किन थालेको र आसन्न लगानी सम्मेलनबाट त्यसमा थप टेवा पुग्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा सञ्चारमन्त्री शर्माले विश्व बैङ्कबाट प्राप्त हुने करिब ६१ करोड ३५ लाख रुपैयाँ अर्थात् ४ दशमलव ६ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिनुभयो । सो रकम नेपालमा लैङ्गिक हिंसाको प्रतिकार्यलाई संस्थागत गर्ने परियोजनाका लागि खर्च गरिने छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले अतिरिक्त हुलाक पाँचौँ संशोधन नियमावली २०८० स्वीकृत गरेको, नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको सञ्चारमन्त्री शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button