तपाईँ सुन्दै हुनुहुन्छः

४ वर्षसम्म अलपत्र रहेको मोटरेवल पुल निर्माण हुँदै 

 

बैतडी ।  बैतडीको पुर्चौडी नगरपालिका वडा नं. १ खडिखेत स्थित जमाडी नदिमा मोटर पुल निर्माण द्रुत गतिमा अघि बढेको छ । ४बर्ष अघि पिल्लर ठड्याएर अलपत्र अवस्थामा रहेको पुल अहिले निर्माण हुन लागेको हो । सतबाँज, श्रीभावर, हाट, गोकुलेश्वर, गन्ना, दार्चुला सडक जोड्ने उद्देश्यले निर्माणाधीन मोटरेबल पुलको निर्माण कार्य अगाडि बढ्दा स्थानियबासी हर्षित भकाएछन् । यो पुल बनेपछि सडक सुचारु हुने भएकाले लामो बाटो यात्रा गर्ने बाध्यता हट्ने स्थानीय हरि साउदले बताउनुभयो । “पुलको वारी र पारीको सडक निर्माण भैसकेको छ । गोकुलेश्वर पुग्नका लागि बिचमा करिब २किलोमिटर मात्रै सडक निर्माण गर्नुपर्नेछ, यसबर्ष नगरपालिकाले उक्त सडकमा बजेट पनि छुटाएको छ, यत्ति भएमा यात्रा निकै सहज हुनेछ ।”उहाँले भन्नुभयो । 

सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरर्गत पूर्वाधार विकास कार्यालय बैतडीको ४ करोड ७० लाख रकमको लागतमा जगदम्बा बिल्डर्स प्रालि बुद्ध नगर काठमाण्डौले उक्त पुल निर्माण गरिरहेको हो । आगामी वैशाख मसान्तसम्म उक्त पुल निर्माण कार्य सम्पन्न गरि सवारी साधन आवत जावत गर्ने गरि निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको निर्माण व्यवसायी गणेश बहादुर बिष्टले बताउनुभयो । 

लामो समय निर्माण कार्य अलपत्र परेको विषयमा पुलमा जडान गरिने फलामका सामानहरू भारतमा निर्माण गर्न ढिलाइ भएको निर्माण व्यवसायीको भनाई छ । पुल निर्माण गरिरहेका वीरेन्द्र धानुकले भन्नुभयो,“ यो पुल पहिला नै निर्माण सम्पन्न भइसक्नु पर्ने हो तर बिचमा कोरोनाको कहरका कारणले काम ठप्प भएको हो, अहिले धमाधम काम गरिरहेका छौँ, सामानहरू आइसकेको छ, प्राविधिक, कामदार सबै जना तयारी अवस्थामा छन्, वैशाखमा फलामको काम सकेर जेठमा ढलान गर्ने र निर्माण सम्पन्न गरेपछि सम्बन्धित निकायलाई बुझाउने तयारीमा छौँ ।” उक्त पुल आर्थिक बर्ष २०७६/०७७मा निर्माण सुरु भएको थियो ।

यो पुल निर्माण कार्य धमाधम अघि बढेपनि रकम अभावमा काम अनुसारको भुक्तानी नहुने सम्भावना रहेको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ । कतिपय आयोजनाहरूमा प्रदेश सरकारबाट आउनुपर्ने आवश्यक रकम प्राप्त नभएको कार्यालय प्रमुख धिरेन्द्र भट्टले बताउनुभयो । अहिले धेरैजसो आयोजनामा काम सम्पन्न भए अनुसारको भुक्तानी गर्न नसकिरहेको उहाँले बताउनुभयो । ग्वाल्लेक निर्माण सेवाका अनुसार डेढ करोडको काम सम्पन्न गरि भुक्तानीका लागि बिल पेश गरेकोमा १०लाख रकम मात्रै प्राप्त भएको छ । समयमा भुक्तानी नहुँदा निर्माण कम्पनीका कर्मचारीलाई तलव दिन र निर्माण सामग्री खरिद गर्न समस्या भइरहेको व्यवसायीको गुनासो छ ।  

सुदूरपश्चिम प्रदेश सरकारबाट नै रकम निकै कम आउने गरेकाले काम सम्पन्न भएका आयोजनाहरूको भुक्तानी गर्न समस्या भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । काम अनुसारको रकम भुक्तानी गर्न नसक्दा निर्माण व्यवसायीहरूलाई कामका लागि ताकेता गर्न गर्न समेत समस्या भइरहेको कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button