रानाथारु समुदायले मनायो चैतकी चराइँ पर्व

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लामा स्थायी बसोबास गर्ने रानाथारु समुदायले आज चैतकी चराइँ पर्व मनाएका छन् ।
समाजमा रोग व्याधि, महामारीलगायत भूतप्रेतको प्रभाव न्यूनीकरणका लागि सात भगवतीको पूजा अर्चना गर्ने र नाचगान गरेर रमाइलो गरी चैतकी चराइँ पर्व मनाइन्छ ।

चराइँ तीन किसिमका हुन्छन् । चैत की चराइँ, वैशाखकी चराइँ र जेठमा पर्ने भजनी चराइँ । चैतकी चराइँ पर्व हरेक वर्ष चैत्र शुक्ल पक्षको पहिलो सोमबार वा बिहीबार मध्ये जुन बार पहिले पर्छ सोही बार मनाउने प्रचलन रहेको नेपाल रानाथारु समाज कञ्चनपुरका अध्यक्ष प्रेमवती रानाले बताउनुभयो ।
चैतकी चराइँको दिन रानाथारु समुदायका महिलाहरू निराहार व्रत बसेर गाउँको भुइँया मन्दिरमा अथवा बागबगियामा जम्मा हुने र झाँक्री वा गुरुवाले मध्यान्हदेखि अपराह्नसम्म सात भगवतीको पूजापाठ र हवन गर्ने चलन रहेको छ । पूजाको प्रसाद लिएपछि महिलाहरूले वनभोज जस्तै गरी मिठा मिठा खानाका परिकार खाने र नाचगान गरी रमाइलो गर्ने सामाजिक मान्यता रहेको छ । त्यस क्रममा रानाथारु समुदायका व्रतालु महिलाहरूले भगीरथ लीला समेत गाउने गर्दछन् । पूजापाठ र नाचगान गरी घर फर्किनु भन्दा अगाडि पधना वा भलमन्साको हातबाट पानीको छिटा छर्किने प्रचलन रहेको छ ।

रानाथारु समुदायको बाहुल्यता रहेको कञ्चनपुरको लालझाडी गाउँपालिकाले भने संस्कृति संरक्षणमा विशेष जोड दिँदै आएको लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी राना बताउनु हुन्छ । स्थानीय तहहरूकै सहयोगमा पछिल्ला वर्षहरूमा विभिन्न मौलिक सांस्कृतिक कार्यक्रम गरी चराइँ पर्व मनाउने गरिन्छ ।
पछिल्लो समयमा भने त्यस्ता सांस्कृतिक कार्यक्रमहरूमा सामाजिक जनचेतनाका विषयवस्तुलाई समेत उठान गरेर नाचगान गर्ने अभ्यास थालिएको छ ।









प्रतिक्रिया राख्नुहोस्