तपाईँ सुन्दै हुनुहुन्छः

ट्होटें पर्वको अवसरमा पोखरामा र्‍याली प्रदर्शन

पोखरा । तमु समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वको रुपमा रहेको ट्होटें पर्वको अवसरमा मङ्गलवार पोखरामा झाँकी सहितको वृहत् र्‍याली प्रदर्शन गरिएको छ ।

पोखरा नयाँ बजारमा रहेको तमु धिँ नेपालको कार्यालयबाट सुरु भएको र्‍याली नयाँबजार, पृथ्बीचोक, सभागृह चोक हुँदै पोखरा सभागृहमा पुगेर टुङ्गिएको थियो ।

चैत महिना र साउन महिनाको अन्तिम मङ्गलवार पोखरामा हरेक बर्ष धुमधामका साथ मनाइँदै आएको उक्त पर्व यस बर्ष पनि पोखरामा धुमधामका साथ मनाइएको तमु धिँ नेपालका अध्यक्ष हुम तमुले बताउनुभयो । ट्होटें पर्व तमु समुदायले वर्षको दुई पटक चैत र साउनको अन्तिम मङ्गलवार मनाउँदै आएको पाइन्छ ।

तमु धिं नेपालको आह्वानमा पोखरामा विभिन्न गुरुङ समुदायका संघ सङ्गठनका प्रतिनिधिहरू झाँकी सहित विभिन्न जनवारदेखि, भूत, प्रेतका चित्रजस्ता मुकुन्डो, कालोमोसो, विभिन्न रङरोगन लगाएर रंगीबिरंगी झाँकी, लेकमा बस्दा निर्माण गरिने हस्तकलाका सामाग्री समेत र्‍यालीमा प्रदर्शन गरिएको थियो ।

आफ्नो मौलिक सांस्कृतिक पर्व ट्होटे पर्व मनाउन पोखरामा विभिन्न ठाउँबाट पोखरा आई बसोबास गरेका तमुहरू आफ्नो कला संस्कृति झल्कने र आफ्नो परम्परागत भेषभुषामा समेत सजिएर र्‍यालीमा सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button