गण्डकी प्रदेश नयाँ सरकारविरुद्ध कांग्रेस सर्वोच्च जाने
कास्की । गण्डकी प्रदेश सरकार गठनविरुद्ध नेपाली काँग्रेसले सर्वोच्च अदालत जाने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सोमबार बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकले गण्डकीमा असंवैधानिक तरिकाले सरकार गठन भएको निष्कर्ष निकाल्दै मङ्गलवार सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।
नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीलाई सत्ता गठबन्धनले मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखलाई आइतबार हस्ताक्षर बुझाएको थियो । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई आइतबारै मुख्यमन्त्री पदमा नियुक्त गर्नु भएको थियो ।
माओवादीबाट सभामुख रहेका कृष्ण धितालको हस्ताक्षर समेत मुख्यमन्त्री बनाउन प्रयोग गरिएको थियो । एमालेका २२, माओवादीका सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सहित ३१ सांसदको समर्थन रहेको भन्दै अधिकारीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर बुझाइएको थियो ।
सभामुख धितालले पदबाट राजीनामा नदिई सरकार बनाउन समर्थन गरेको भन्दै काँग्रेसले ‘असंवैधानिक’ भनेको छ ।
प्रतिक्रिया राख्नुहोस्