तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष यादवको कमिसन लिँदै गरेको भिडियो सार्वजनिक

सप्तरी । विशेष अदालतबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा सफाइ पाए लगत्तै सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश यादवको कमिसनको लेनदेन गरेको भिडीयो सार्वजनिक भएको छ।

विष्णुपुर गाउँपालिका वडा नं. ६ सप्तरी नामको फेसबुक आइडीमा शनिबार करिब २ बजे अपलोड गरिएको भिडियोमा गाउँपालिकाका लेखापालले उहाँलाई कुनकुन शीर्षकमा कतिकति कमिसन आयो भन्ने बुझाउँछन्।

अन्त्यमा ५ लाख ३० हजार रुपैयाँ उहाँको भागमा परेको भन्दै छेउमा बसेका मान्छेतर्फ इसारा गर्दै ५ लाख रुपैयाँ अध्यक्ष यादवलाई दिन निर्देशन दिन्छन्। भिडियोमा ती व्यक्तिको अनुहार भने देखाइएको छैन, गोप्य रुपमा खिचिएको भिडियोमा दुई जनालाई मात्रै प्रष्ट देखाइएको छ ।

भिडियोमा उल्लेख भएको मिति अनुसार १२ अगस्त २०२३ को करिब पौने १० बजे भिडियोमा खिचिएको देखिन्छ। स्रोतका अनुसार भिडियोमा भएको सम्वाद गाउँपालिका अध्यक्ष यादव पक्राउ परेकै प्रकरणको हो। यही हिसाबका आधारमा नगद र चेक लेनदेनका क्रममा उहाँ सहित तीन जना पक्राउ परेका थिए।

यो प्रकरणमा अध्यक्ष यादवले शुक्रबार मात्रै भ्रष्टाचार मुद्दामा सफाई पाउनु भएको थियो। विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्यद्वय तेजनारायण सिंह राई तथा मुरारीबाबु श्रेष्ठको इजलासले उहाँ सहित लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई सफाइ दिने फैसला गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button