तपाईँ सुन्दै हुनुहुन्छः

टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा सुरु

काठमाडौँ  ।  टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा प्रारम्भ भएको छ । जात्राका क्रममा टोखाका नेवार समुदायले पाहुना बोलाएर मीठो  खुवाउने प्रचलन रहेको नेवाः गुठी टोखाका अध्यक्ष रमेश नापितले बताउनुभयो ।

आज विनायक र सङ्कटा अजिमाका रथलाई गाउँ परिक्रमा गराइन्छ । परिक्रमाका क्रममा जहाँ–जहाँ महादेव लुकेर बसेको छन् त्यहाँ  पुर्‍याई दर्शन गराएर फर्काउने चलन रहेको अध्यक्ष नापितले बताउनुभयो । भोलि घोडे जात्राको दिन साँझ ६:३० बजे सपन विनायनको रथलाई सपनतीर्थमा लैजाने, सङ्कटाको रथलाई तरख्यःमा ल्याएर छ जना कुमार र चारजना कुमारीलाई भात खुवाइने उहाँले बताउनुभयो । 

सपनतीर्थको रथलाई नाटेश्वर र सङ्कटाको रथलाई थलाग टोलमा बिसाइन्छ । सोही रात भजनकीर्तन गर्ने र जाग्राम बस्ने चलन छ । जात्राको अन्तिम दिन बिहान ६:३० बजे सपनतीर्थको रथ नाटेश्वरबाट र सङ्कटाको रथ थलाग टोलबाट बाजागाजासहित कपडा बिच्छ्याएर थलाग टोलमा रहेको पाँचवटा प्वाल भएको ढुङ्गा (न्या प्वाय ल्हो) मा लगेर सपनविनायकले सङ्कटालाई तीनपटक ढोगाउने चलन छ । त्यसपछि सङ्कटा अगाडि र सपनविनायकको रथ पछाडि बसेर लिङ्गेश्वरलाई तीनपटक परिक्रमा गरी जात्रा समापन गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button