आलु खेतीबाट मनग्य आम्दानी गर्दै हिरमिनियका किसान

बाँके । बाँके डुडुवा गाउँपालिका वडानं. ६ का किसान व्यावसायिक रुपमा आलुखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।
डुडुवा–६ हिरमिनियाका किसान व्यावसायिक आलु खेतीबाट मनग्य आम्दानी गरी आत्मनिर्भर बन्न थालेका छन् ।
यहाँ रहेको करिब ३० वटै गाउँका किसान आलुखेती गर्दै आएका छन् । डुडुवा गाउँपालिका वडा नं. ६ भंघोटनाका किसान वंशीलाल मौर्यले करिब ४ बिघामा आलुखेती गर्नुभएको थियो । जसबाट ३ सय क्विन्टलको हाराहारीमा आलु उत्पादन भएको कृषक मौर्यले बताउनुभयो । यस वर्ष राम्रो मूल्यमा आलु बिक्री भए पनि उत्पादनमा ह्रास आएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “आलुमा दाना लाग्यो तर, हिउँदे वर्षा नहुँदा त्यो आलुको दाना बढ्न सकेन ।”
आलुको बिउ समेत उत्पादन गर्दै आउनुभएका मौर्यले अर्को वर्ष बिउमा प्रयोग गरिने आलु कोहलपुरस्थित कोल्ड स्टोरमा राखेको बताउनुभयो । उहाँले भन्नुभयो “म अर्काको बिउ प्रयोग गर्दिन आफैले उत्पादन गरेको बिउ लगाउँछु र बचेको बिउ बिक्री गर्छु ।”
यसैगरी, डुडुवा गाउँपालिका वडा नं. ६ बल्दीपुर्वाका किसान गुरुदिन यादवले पनि ३० कट्ठामा व्यावसायिक रुपमा आलुको खेती गर्नुभएको थियो । त्यसबाट उहाँले यस वर्ष राम्रो आम्दानी गरेको सुनाउनुभयो । उहाँले ३० कट्ठाबाट १० टन आलु उत्पादन गरेको बताउनुभयो । यादवले भन्नुभयो, “यसवर्ष झुल्सा लगायत अन्य रोग लागेन तै पनि उत्पादन घट्यो ।”
सुरुमा दुई हजार रुपैयाँ प्रति क्विन्टलमा बिक्री भएको आलुको मूल्य अहिले ४ हजार रुपैयाँ प्रति क्विन्टल रहेको उहाँले बताउनुभयो । कृषक यादवका अनुसार धेरै किसानले सुरुमै काँचो आलु खनेर बिक्री गरे भने अधिकांश किसानले आलु छिपिएपछि मात्र खनेको बताउनुभयो । उहाँले भन्नुभयो, “पछि आलु खनेका किसानले राम्रो आम्दानी लिन पाएका छन् ।”
यस वर्ष बाँकेमा ३ हजार हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो । जसमध्ये ३७ हजार ५ सय मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमदले बताउनुभयो ।
प्रमुख खानले भन्नुभयो, “हिरमिनियका किसान पूर्खौदेखि आलुखेती गर्दै आइरहेका छन् । आलु खेतीका लागि उर्वर भूमि भएका कारण यस क्षेत्रमा अन्य खेतीको तुलनामा मनग्य रुपमा आलु उत्पादन हुने गरेको छ । ”
पछिल्लो समयमा अधिकांश ठाउँमा आलु उत्पादक किसानलाई आलुमा लाग्ने कमिलो र डढेलो रोगका कारण समस्या हुने गरे पनि कृषि ज्ञान केन्द्रबाट निरन्तर अनुगमन गरी रोगको निराकरणका बारेमा कृषकहरूलाई जानकारी दिँदै आएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्