तपाईँ सुन्दै हुनुहुन्छः

वाणिज्य दूतावासमा आक्रमणप्रति इरानको प्रतिक्रिया ‘अपरिहार्य’– हिजबुल्लाह प्रमुख

बेरुत ।  दुई जनरलको मृत्यु हुनेगरी इजराइलले यसै साता दमास्कसमा आफ्नो वाणिज्य दूतावासलाई ध्वस्त पारेपछि इरानले अनिवार्यरूपमा बदला लिने लेबनानको इरान समर्थित हिजबुल्लाह आन्दोलनका नेताले शुक्रबार चेतावनी दिएका छन् ।  

“निश्चिन्त हुनुहोस्, इरानको दमास्कस वाणिज्य दूतावसालाई निशाना बनाउनेमाथि इरानको प्रतिक्रिया अपरिहार्य छ”, इरान र उसका सहयोगीहरूद्वारा आयोजित प्यालेस्टिन समर्थक जुलुसहरूको वार्षिक दिन जेरुसेलम दिवसका अवसरमा हसन नसरल्लाहले टेलिभिजनमा भन्नुभयो । 

सिरियाको राजधानी दमास्कसमा सोमबार भएको हमलामा इरानी दूतावासको पाँच तल्ले कन्सुलर भवन ध्वस्त भएको थियो र दुई जनरलसहित सात इरानी रिभोल्युसनरी गार्ड मारिएका थिए । नसरल्लाहले इरानी वाणिज्य दूतावासमा भएको हमलालाई ‘निर्णायक विन्दु’ भन्नुभएको छ । 

अक्टोबरमा गाजा युद्ध सुरु भएपछि इजराइलसँग नसरल्लाहका लडाकूहरूले इजराइलसँग करिब दैनिक सीमापारबाट मुठभेड गरिरहेका छन् । उहाँले भन्नुभयो, “हिजबुल्लाहलाई युद्धको डर छैन र इजराइलसँग कुनै पनि युद्धका लागि सम्पूर्णरूपमा तयार छ ।”

इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले वाणिज्य दूतावासमा हमलाका लागि इजराइललाई ‘दण्डित गरिने छ’ भन्नुभयो । 

इजराइलले हमलाप्रति कुनै टिप्पणी गरेको छैन । यद्यपि विश्लेषकहरूले यसलाई गाजा क्षेत्रमा इजराइल–हमास युद्धभन्दा पर व्यापक युद्ध सुरु गर्ने जोखिम उठाउने इरान र उसका क्षेत्रीय प्रतिनिधिहरूविरुद्धको अभियानको वृद्धिका रूपमा हेरेका छन् ।  

इरानको जवाफी कारवाहीको धम्कीहरूपछि आफ्नो सुरक्षा बलियो बनाइरहेको र लडाकू एकाइहरूको छुट्टी रोकिरहेको इजराइलले बिहीबार बताएको थियो ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button