अवैध रुपमा भारतीय कुखुरा भित्रिँदा बाँकेका कृषक मर्कामा
बाँके । बाँकेका स्थानीय कृषक व्यवसायीले पालेका कुखुरा बिक्री नहुँदा व्यवसाय धरापमा परेको छ ।
लाखौँको लगानी गरेर व्यवसाय गरेको भएपनि नेपाली कुखुराले उचित बजार पाउन नसक्दा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा व्यवसायी पुगेका छन् । पछिल्लो समय कतिपय युवाहरूले स्वदेशमै बसी केही गरौँ भनि कुखुरापालन व्यवसाय सञ्चालन गरेका भएपनि भारतबाट भित्रिने कुखुराका कारण स्थानीय उत्पादनले बजार नपाएको उनीहरूको गुनासो छ । भारतबाट अवैध रुपमा भित्रिने कुखुरा पूर्ण रुपमा रोक नलगाउँदा स्थानीय कृषकले उत्पादन गरेको कुखुरा बिक्रीमा चुनौती रहेको कोहलपुरका स्थानीय कुखुरापालक अशोक शर्माले बताउनुभयो ।
प्रायजसो कुखुरा दुई देखि तिन केजी हुँदा बिक्री गरिन्छ र अहिले बजारमा बिक्री नभएपछि कुखुराको तौल बढेर पाँच र छ केजी सम्म पुग्दा पनि बिक्री नहुँदा लागत मूल्य भन्दा घाटामा बेच्नु परेको स्थानीय कुखुरा व्यवसायी यम बहादुर केसीको गुनासो रहेको छ ।

उहाँले बैङ्कको ऋण हुँदाहुँदै अहिले साहुको ऋण समेत थपिएको दुखेसो समेत गर्नुभयो । नेपाली बजारमा कुखुरालाई चाहिने दाना समेत महँगो पर्ने र बिक्री गर्ने समयमा बिक्री नहुँदा आर्थिक भार परेको व्यवसायीहरू बताउँछन् ।
बाँके र बर्दियाका बजारमा लुकीछिपी भारतीय बजारको कुखुरा आउने गरेको उनीहरूको आरोप छ । बाहिर बाट आउने कुखुरामा पूर्ण रोक लगाउनु पर्ने गाइभैँसि बाख्रा पालक सरह कुखुरापालक कृषकका लागि पनि अनुदानका कार्यक्रमहरूमा समेट्न सके कुखुरा व्यवसाय तर्फ युवाहरूलाई आकर्षण गर्न सकिने कोहलपुरका स्थानीय युवा समिर गौतमको भनाई रहेको छ।

बर्दिया र बाँके जिल्लामा खुल्ला सिमानाका भएका कारण विभिन्न कुरामा प्रभाव पर्दै आएको छ। स्थानीय नागरिकहरूले नै भारतीय कुखुरालाई बहिष्कार गर्नुपर्ने र प्रशासनले आफ्नो संयन्त्र मार्फत रोक्ने प्रयास गरिराखेको बाँके प्रशासनले जनाएको छ।
सीमा क्षेत्रमा अवैध कुखुरा आयात रोकथामका लागि सशस्त्र प्रहरी बल , नेपाल प्रहरी लगायत राज्यका अन्य संयन्त्र मार्फत व्यवस्थापन नियमन र नियन्त्रण गर्ने कार्य भइरहेको बाँके प्रशासनले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्