तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा तीन घरे–सान्तीपुर–झापा सडकको अवलोकन 

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रका सडकको अवलोकन गर्नुभएको छ।

बिहीबार पूर्वप्रधानमन्त्री खनालले तीन घरे–सान्तीपुर–झापा सडकको अवलोकन गर्नुभएको हो । उहाँले तीन घरे–सान्तीपुर–झापा सडकलाई पक्की सडकको रूपमा अघि बढाउन कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । ‘यो बाटोको ट्र्याक खोल्ने पहल पनि मैले नै गरेको हो अब बाह्रै महिना चल्ने सडक भइसक्यो यसलाई कालोपत्रे गरेर यस भेगका जनताको जीवनस्तर उकास्न सरकारसँग पहल गर्छु,–उहाँले भन्नुभयो ।

झापाको बिर्तामोडबाट शान्तिपुर हुँदै तीन घरे निस्कने सडकलाई कालोपत्रे गर्नसके इलामबाट बिर्तामोड आउन १८ किलोमिटर दुरी छोटो हुने रोङ गाउँपालिकाका अध्यक्ष सुवास तामाङले बताउनुभयो । यो सडक राम्रो बन्दा इलामको सूर्योदय नगरपालिका, रोङ गाउँपालिका र झापाको अर्जुनधारा नगरपालिकाका हजारौँ नागरिक लाभान्वित हुने अध्यक्ष तामाङले बताउनुभयो ।

यसैबीच पूर्व प्रधानमन्त्री खनालले मदन भण्डारी राजमार्गको अवलोकन गर्दै रूख कटानको समस्याको कारण सडक निर्माणको काममा भएको ढिलासुस्तीको बारेमा तत्काल सहजीकरण गर्ने बताउनुभयो । उहाँले नम्बरिङ भइसकेको रुख कटानमा भएको ढिलासुस्तीको विषयलाई तत्काल समाधान गर्न पहल गर्ने बताउनुभयो । भण्डारी राजमार्गको सीमा क्षेत्र पाटापुरमा बसपार्क र सीमावर्ती मेची नदीमा पुलको लागि पहल थालिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button