सीप पाएपछि थन्किएको मिनिटिलर प्रयोगमा

इलाम । ११ वर्ष देखि मिनिटिलर प्रयोग गर्दै आउनु भएका इलाम नगरपालिका ८ का मेघ बहादुर बिष्ट सामान्य मर्मतको लागि प्राविधिक बोलाउनु पर्ने वा मर्मत गर्ने स्थान सम्म लैजानु पर्ने बाध्यता रहेको थियो । अहिले उहाँलाई सहज भएको छ । इलाम नगरपालिका वाड न ८ को वडास्तरीय युवा समितिले दिएको हाते ट्याक्टर ( मिनिटिलर ) मर्मत सम्बन्धी तालिम लिए पछि उहाँको समय खर्च बचत हुने अपेक्षा छ ।
उहाँजस्तै अर्का किसान योगेश आर्चायले खेतबारी जोत्न ७ वर्ष देखि हाते ट्याक्टर प्रयोग गर्दै आउनु भएको छ । ट्याक्टर आफैले खरिद गर्नु भएका आचार्यले आफूहरूको लागि समय सान्दर्भिक तालिम दिएको बताउनु भयो । आफ्नो ट्याक्टर बिग्रिएर थन्किएपछि नयाँ खरिद गर्न लाग्नु भएका उहाँले तालिम लिएर मर्मत भएपछि थन्किएको ट्याक्टर प्रयोगमा ल्याएको बताउनु भयो ।

बारी जोत्दै गर्दा ट्याक्टर बिग्रिए मिस्त्री बोलाउनु पर्ने बाध्यता भएकोले अब सामान्य मर्मत आफैले गर्न सकिने इलाम नगरपालिका ८ स्थित रुपाखेती कृषि फामका सञ्चालक प्रवीण दहाल बताउनु हुन्छ । प्रविधिले सहज त बनायो तर बिग्रिए कष्ट हुने उहाँको अनुभव छ । कहिलेकाहीँ प्रयोग गर्दै गर्दा बिग्रिए अर्काको माग्नुपर्ने वा प्राविधिक बोलाउनु पर्दा समय र पैसा दुवै खर्च हुन्थ्यो तर अहिले ७ दिने तालिम लिए पछि धेरै सहज भएको दहाल बताउनु हुन्छ । दहालले तालिम लिएपछि अब आफ्नो मात्र नभई अरूको समेत मर्मत गरी आय आर्जन गर्न सकिने बताउनु भयो ।
वडावासीको लागि आवश्यक सीप ,तालिम सञ्चालन वडाले बजेट विनियोजन गर्ने इलाम नगरपालिका ८ का वडा अध्यक्ष दलमान तामाङले बताउनु भयो । अनुदानमा मिनिटिलर वितरण गरिएको भए पनि तालिम पहिलोपटक सञ्चालन गरिएको उहाँको भनाई छ ।
इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खड्का समय सान्दर्भिक तालिम दिइएको बताउनु भएको छ । तालिम धेरै हुने गरेपनि प्रतिफल आउने , उत्पादन र बजार सङ जोड्ने खाल्का तालिम कम मात्रामा हुने गरेको अवस्थामा यो तालिम प्रभावकारी हुने उहाँले बताउनु भयो ।

नगर स्तरीय युवा समितिका अध्यक्ष लिला प्रसाद थापाले युवाहरूको लागि यो तालिम प्रभावकारी हुने बताउनु भयो । सङ्गठन , सीप र पुँजी ले मात्र समुन्नत समाज निर्माण हुने भन्दै थापाले युवाहरूको विदेश पलायनलाई रोक्न प्रविधि मात्र नभई सीप दिनुपर्ने बताउनुभयो ।
किसानले आफ्नै लगानीमा साथै स्थानीय सरकार लगायत विभिन्न कार्यालयले अनुदानमा दिएको मिनिटिलर प्रयोग गर्दै आए पनि बिग्रिए पछि सामान्य मर्मत गर्न सीप नहुँदा समस्या हुने गरेकोले तालिम सञ्चालन गरिएको इलाम नगरपालिका वाड न ८ वडा स्तरीय युवा समिति दिनेशचन्द्र महतले बताउनुभयो ।

हाते ट्याक्टर (मिनिटिलर) मर्मत सम्बन्धी ७ दिवसीय तालिम गत मङ्गलवार सम्पन्न भएको छ । इलाम नगरपालिका वाड न ८ को वडास्तरीय युवा समितिको आयोजनामा भएको तालिममा वडाका १५ जनाको सहभागिता रहेको थियो । प्राविधिक विकास बस्नेतले तालिम दिनु भएको थियो । तालिम लिएकाहरूलाई सामान्य मर्मतको लागि केही औजार पनि उपलब्ध गराएको समिति सचिव किशोर भण्डारीले बताउनु भयो ।
इलाम नगरपालिकाले मिनिटिलर गत र चालु आर्थिक वर्षमा वितरण गर्दै आएको भएपनि मिनिटिलर मर्मत सम्बन्धी सीप दिन सकेको छैन । अन्य सरकारी तथा गैर सरकारी कार्यालयले वितरण गरेका कृषि औजार प्रयोग विहीन भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्