मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौँ । खानेपानी मन्त्री राजेन्द्र कुमार राईले राष्ट्रिय गौरबको आयोजना मेलम्ची खानेपानीको दिगो व्यवस्थापनको खोजी भइरहेको बताउनुभएको छ ।
खानेपानी मन्त्रालयमा आज आयोजित मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापन सम्बन्धी अन्तरक्रियामा मन्त्री राईले मेलम्ची खानेपानीमा भएका कमीकमजोरीहरू सच्याउँदै यसको दिगो व्यवस्थापनमा मन्त्रालय केन्द्रित रहेको बताउनुभयो ।
मन्त्री राईले उपत्यकालाई खानेपानीको समस्या समाधान गर्न मेलम्ची आयोजनाका विविध पक्षमा सरोकारवाला सबैसँग गहन छलफल गरेर अघि बढ्ने जानकारी दिनुभयो ।
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलले मेलम्ची खानेपानीमा लामो अध्ययन र प्रशस्त खर्च भएको भन्दै सकेसम्म कम खर्चमा दिगो व्यवस्थापन गर्नुको विकल्प नभएको बताउनुभयो ।
सभापति पोख्रेलले मेलम्ची आयोजनाको अध्ययन, यसको कार्यप्रगति र गुणस्तरको जबाफदेहिता कस्ले लिने भन्ने मुख्य समस्या रहेको स्पष्ट पार्नुभयो ।
सभापति पोख्रेलले कुनै पनि आयोजना निर्माणमा वैयक्तिक जबाफदेहिता र जिम्मेवारी बढी महत्वपूर्ण हुने बताउनुभयो ।
पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले आयोजनाले मेलम्चीका स्थानीयहरूको आवाज सुन्दै आयोजनामा खर्च मात्र गर्ने नभई लगानी सुनिश्चित लगानीका लागि गहन अध्ययन हुनुपर्ने बताउनुभयो ।

राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले मेलम्ची खानेपानीलाई दुहुनो गाई बनाएको भन्दै पानी वितरण हुन्छ भन्ने सुनिश्चितता भए जनताले नै लगानी गर्न सक्ने बताउनुभयो ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेनले मुहान क्षेत्रमा भएको क्षतिको आकलन र समाधानको उपाय नखोजिएको र स्थानीय सरकारसँग समन्वयसमेत नभएको गुनासो गर्नुभयो ।
अध्यक्ष ग्याल्जेनले मेलम्ची खानेपानीको मुहान सार्ने कुरामा नियत सफा नदेखिएको बताउँदै मेलम्ची क्षेत्रका स्थानीय समस्या समाधान नभए स्थानीयको सहयोग नरहने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय सरकारसँग समन्वय गर्न र लगानीको गम्भीरतापूर्वक समीक्षा गर्न आग्रह गर्नुभयो ।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले वर्तमान मेलम्चीको कामप्रति विश्वास नभएको भन्दै गम्भीर समीक्षाको विषय भएको बताउनुभयो ।
प्रमुख अधिकारीले खानेपानीका चार थरी निकाय हुने र जिम्मेवारी पन्छाउने प्रवृत्तिले दिक्क बनाएको भन्दै उपत्यकामा भइरहेको पानी वितरणमा गम्भीर लापरबाही भइरहेको बताउनुभयो ।
छलफलमा सांसदहरु प्रदीप पौडेल, उदय राणा, राजेन्द्र कुमार केसी, गोपी बहादुर अछामी, शिशिर खनाल, तोसिमा कार्की, प्रेम सुवालले राज्यको ठूलो लगानी, समय र त्यसले दिने प्रतिफलको गहन समीक्षा नभएको भन्दै प्राविधिक पक्षको गहन अध्ययन र समीक्षा हुनुपर्ने बताउनुभयो ।
सांसदहरुले स्थायी र सुरक्षित संरचना निर्माणका लागि वस्तुनिष्ठ अध्ययन गर्न र विगतको कार्यशैलीको समीक्षा गर्दै उपत्यकामा पानी वितरणको दिगो व्यवस्थापनको योजना अघि बढाउनु पर्ने बताउनुभयो ।
मन्त्रालयका सचिव सुरेश आचार्यले बर्सैभरि मेलम्चीको पानी उपत्यकामा ल्याउन दिगो समाधानको खोजी भइरहेको जानकारी दिनुभयो ।
सचिव आचार्यले आयोजनामा ६२÷६३ अर्ब भएको खर्चले उपत्यकामा आठ महिना पानी वितरण गरिएको भन्दै मेलम्चीमा भएको लगानी खेर नगएको बताउनुभयो ।
मेलम्ची खानेपानीका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले वर्षैभर पानी कसरी ल्याउने लगायत दिगोपनाका लागि प्रयास भइरहेको बताउनुभयो ।
कार्यकारी निर्देशक अन्सारीले मेलम्ची खानेपानी आयोजनाको दिगो समाधानका लागि थप साढे चार अर्ब रुपैयाँ र पाँचबर्षको समय लाग्ने अनुमान रहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्