पर्यटकीय गन्तव्य बन्दै बैकुण्ठपुरी संग्राहलय
अर्घाखाँची ।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ५ वाङ्गला स्थित वैकुण्ठपुरी अहिले सबैको घुम्ने र मन बहकाउने स्थल बनेको छ ।
विदाको दिन होस् वा अन्य कुनै दिन त्यहाँ भिड भाड नभएको दिन हुँदैन । मेला पर्व तथा अन्य विदाको दिन त्यहाँ आउने, घुम्ने, नाँच्ने, गाउने र भिडियो बनाउनेको भिड लाग्ने गर्दछ । परम्परागत मौलिक संस्कृति, संस्कार र जीवनशैली चिनाउने वैकुण्ठपुरी संग्राहलयमा आजभोलि घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।
मोबाइल र डिजिटल ग्याजेट नै सबैथोक हो भन्नेहरुलाई ईतिहास र जीवन सिकाउने सामग्री अवलोकन गर्ने थलो वैकुण्ठपुरीले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरेको छ । हाम्रा पुर्खाहरूले सामाग्रीहरूको तत्कालीन अवस्थामा कसरी प्रयोगमा ल्याइन्थ्यो, त्यसको जटिलता, उपयोगिता, सामाजिक सद्भाव, सामूहिक क्रियाकलापमा संलग्नता आदीको बारेमा स्पष्ट ज्ञान पाउन सकिन्छ ।
पत्रकार निमबहादुर रिजालको सक्रियतामा सन्धिखर्क नगरपालिका–५ वाङ्लाको आमडाँडामा स्थापित संग्राहलयमा लोप हुने अवस्थामा रहेका पुराना भाँडाकुँडा तथा प्रयोग गर्ने सामान राखिएको छ ।

पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका रिजालको सक्रियतामा ज्येष्ठ नागरिक जिल्ला संघ अर्घाखाँचीले बाबु–बाजेले प्रयोग गरेका पुराना वस्तु लोप हुन थालेकाले यसलाई भावी पुस्तामा जानकारी गराउने उद्देश्यले संग्राहलय स्थापना गरिएको हो ।
पहिला बाबुबाजेले प्रयोग गरेका तर अहिलेका पुस्ताले नदेखेका सामग्री उक्त संग्राहलयमा राखिएका छन् । कपडा राख्ने काठको मदुस, घ्यू राख्ने हर्पे, तेल राख्ने चौठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी संग्राहलयमा राखिएको व्यवस्थापक उमा रिजालले बताउनुभयो । यसैगरी उखु पेल्ने काठको कोल, तेल पेल्ने काठको कोल, धान कुट्ने ढिकी, मकै पिस्ने जाँतो, खेतबारी जोत्ने हलो, असारमा हिलोमा लगाउने खोक, काठको दूध निकाल्ने डाडु, काठका चप्पललगायत वस्तु संग्राहलयको मुख्य आकर्षणको रूपमा रहेका छन् ।

उहाँका अनुसार पानी आउँदा ओढ्ने सिउ, धर्मशालामा राखिने घैँटो, भजनमा बजाउने खैँजडी, डाला, सुपा, तमाखु खान प्रयोग गरिने हुका, चिलिम, पुराना टेपरेकर्डर, भोटे ताल्चा, दाउ, बाँसको काइँयो लगायतका थुप्रै वस्तु संग्राहलयमा राखिएको छ । यस्तै, रुखमा बनाइएको घर र घरमै पालेको कछुवा तथा कमलको फुल पनि आकर्षणको केन्द्रको रूपमा रहेका छन् । यसलाई अझै थप व्यवस्थित बनाउने काममा लागिपरेको पत्रकार रिजालको भनाइ छ ।
झुला, पिङ्ग, ट्री हाउस, स्विमिङ पुल, अम्रेला रोड, सेल्फी क्षेत्र, मन्दिर, मूर्ति, माछा तथा कमल पोखरी लगायतका विभिन्न आकर्षक स्थल निर्माण गरेकोले पनि आकर्षकको केन्द्र बनेको छ । ‘संस्कृति र प्रकृति हाम्रा जननी र रक्षक हुन’,यिनको बचाउ गर्नु हामी सबैको कर्तव्य हो भन्ने मान्यताका साथ पुराना सामाग्री खोजी संग्राहलय बनाउने सोच आएको बताउने नीम बहादुर रिजाललाई पहिले छिमेकीहरूले कवाडी समेत भन्थे तर अहिले उहाँहरू नै टिकट काटेर अवलोकन गर्न आउँदा खुशी लाग्ने बताउनु हुन्छ ।

त्यति मात्र होइन त्यहाँ परम्परागत तथा जातीगत भेषभुषा झल्किने पोशाक, धार्मिक तथा वैदिक कार्यमा प्रयोग हुने सामाग्रीहरू, मूर्ति, बाजा गाजा लगायत विभिन्न सामाग्रीको सङ्कलन तथा संयोजनले धेरै आकर्षक बनेको छ । भएका जग्गा जमिन, सम्पत्ति र सामाग्रीहरू सिन्कीको भाउमा मिल्काएर बजार तथा शहरमा बसोबास गर्नेहरू नै अहिले घुम्न आउने गर्दछन् । सोच बिचार र लगाव हुने हो भने हामीले प्रयोग गरेर फालेका सामाग्रीहरुले धेरै कुरा बताउन र सिकाउन सक्ने त्यहाँ गएर बुझ्न सकिन्छ । सन्धिखर्क मुख्य बजारबाट करिब २० मिनेटमा पक्की सडकको माध्यमबाट पुग्न सकिने वैकुण्ठपुरी संग्राहलय एक पटक पुग्नै पर्ने स्थल बनेको छ ।







प्रतिक्रिया राख्नुहोस्