तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा प्रदेश प्रमुख भट्ट समक्ष राजीनामा 

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले राजीनामा दिनु भएको छ । मुख्यमन्त्री पाण्डले गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आज बिहान राजीनामा बुझाउनु भएको हो । 

गत फागुन २३ गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेकोले भोलि( (चैत २२ गते) भित्र विश्वासको मत लिनु पर्ने भएकोले विश्वासको मत पाउने आधार नभए पछि मुख्यमन्त्री पाण्डेले राजीनामा दिनु भएको हो । 

काँग्रेस संसदीय दलको बैठक मङ्गलवार बसेर बुधबार/ बिहीबार भित्र मुख्यमन्त्री पाण्डेले राजीनामा दिने त्यस पश्चात् ठुलो दलका हैसियतमा पुन मुख्यमन्त्री बनेपछि विश्वासको मत लिने सम्बन्धमा छलफल भएको एक सांसदले बताउनु भयो । सदनमा निर्णायक शक्तिको रुपमा रहेको राप्रपाले काँग्रेसलार्ई समर्थन नगर्दासम्म काँग्रेस नेतृत्व सरकारले विश्वासको मत पाउने आधार नभएकोले राजीनामा दिनु भएको हो । 

अघिल्लो वैशाख १४ गते माओवादी समेतको समर्थनमा पाण्डे नेतृत्वको सरकार बनेको भएपनि गत फागुन २३ गते माओवादीले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुअघि सरकारले प्रदेशसभा अधिवेशनको लागि आह्वान गर्नुपर्ने हुन्छ जसमा प्रदेश सभा सचिवालयलाई विश्वासको मत लिनु दुई दिनअघि नै जानकारी दिनुपर्ने कानुनी प्रावधान रहेको छ । प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री पाण्डेले कुनै जानकारी गराउनु भएको थिएन्। 

राप्रपाले चैत २७ गतेअघि कुनै पनि राजनीतिक गठबन्धनमा सामेल नहुने अडान राख्दै आएको छ । राप्रपाका सांसद तथा पूर्व मन्त्री पञ्चराम गुरुङले अहिलेको अवस्थामा आफूहरू आन्दोलनमा रहेकोले प्रदेश सरकार गठन प्रक्रियामा तटस्थ नै बस्ने बताउनु भयो ।

प्रदेशमा काँग्रेसका २७, एमालेका २२, माओवादीको सभामुख सहित ८ , राप्रपाको २ र स्वतन्त्रबाट एक जना सांसद सदनमा रहनु भएको छ । बहुमतको सरकार गठनमा ३१ मत आवश्यक पर्छ । केन्द्रको गठबन्धन सरकार अनुसार एमाले, माओवादी केन्द्र मिलेर पनि सरकार गठन हुन सक्दैन भने यसमा राप्रपा निर्णायक शक्तिको रुपमा रहेको छ । स्वतन्त्र राजीव गुरुङ (दीपक मनाङे)को मात्र मुख्यमन्त्री पाण्डे नेतृत्व सरकारलाई समर्थन रहेको छ ।

मुख्य मन्त्री पाण्डेले राजीनामा दिएपछि अरू दलले पनि बहुमत पुर्‍याउन नसक्ने देखे पछि ठुलो दलको हैसियतमा फेरी पनि पाण्डे नै मुख्यमन्त्री बन्ने र त्यसबेला राप्रपाले विश्वासको मत दिने तयारीमा लाग्ने भएको बताइन्छ । मुख्यमन्त्री पाण्डेले राजीनामा दिने भएपछि मन्त्रीहरूलाई पोखरा नछाड्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button