पाल्तडा–तल्लोडुङ्गेश्वर सडक स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती

जुम्ला । बजेट अभावले कर्णाली राजमार्ग अन्तरर्गत पाल्तडा–तल्लोडुङ्गेश्वर सडक खण्ड स्तरोन्नति नहुँदा यात्रुले सास्ती पाएका छन् । सङ्घीय सरकारले उपेक्षा गर्दै आएका कारण उक्त खण्ड सँगै कर्णाली राजमार्ग स्तरोन्नति नहुँदा कर्णाली बासीले सास्ती पाएका हुन् । जुम्ला सुर्खेत जोड्ने २३२ किमी दुरीको राजमार्ग सञ्चालनको करिब दुई दशक भई सक्दा पनि स्तरोन्नतिमा सरकारले उपेक्षा गर्दै आएको हो ।
बजेट अभावकै कारण विस्तार तथा स्तरोन्नति नहुँदा कर्णालीकै जीवन मार्ग मानिएको राजमार्ग मृत्यु मार्गका रुपमा कहलिएको छ । दैखोला–जुम्ला १०४ किमी सडक खण्ड सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्छ । जुन क्षेत्रमा बजेट अभावका बीच पनि स्तरोन्नतिको काम भइरहेको छ। यद्यपि,निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकिएको सडक डिभिजन जुम्लाले जनाएको छ । जुम्ला खण्डकै अप्ठ्यारो क्षेत्रमा स्तरोन्नति नहुँदा यात्रुले सास्ती पाई रहेका छन् ।
सडक चौडा बनाउने काम भएपनि केही जोखिम युक्त स्थानमा स्तरबृद्धि हुन सकेको छैन । सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाइले कर्णाली राजमार्गको कालिकोट–जुम्ला खण्डको विभिन्न खण्डमा काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘जुम्लाको तातोपानी, कुडारी, रारालिहि क्षेत्र तथा कालिकोटको पिली, नयाँ बजारलगायतका ठाउँमा डबल कटिङको काम हुँदै छ ।’ यद्यपि बजेट अभावकै कारण जोखियुक्त स्थानमा स्तरोन्नति गर्न नसकिएको उहाँको भनाई छ ।
यता सडक डिभिजन सुर्खेतको कार्यक्षेत्र भित्र पर्ने र पाल्तडा–तल्लोडुंगेश्वर खण्डको सडक भने वर्षौँदेखि खाल्डा खुल्डी,हिलाम्य र धुलाम्य भएपनि बजेट अभावले स्तरोन्नति हुन सकेको छैन । सडक डिभिजन कार्यालय सुर्खेतले दही खोला देखि बांगेसिमल सम्म १३२ किलोमिटर सडक हेर्छ । तर पाल्तडा–तल्लोडुंगेश्वरसम्मको करिब ३० किलोमिटर वर्षौँदेखि हिलाम्य र धुलाम्य हुँदा पनि सुधार नहुँदा यात्रुले सास्ती पाई रहेका छन् ।
सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर टोप नारायण पौडेलका अनुसार उक्त सडक खण्ड स्तरोन्नतिका लागि बजेट नहुँदा काम गर्न सकिएको छैन । वर्षौँ पहिले गरेको कालोपत्रे उप्किएर धुलो मात्रै छ । सरकारले कर्णाली राजमार्ग कालोपत्रेका लागि बजेट नपठाउँदा समस्या भएको उनको भनाई छ ।
खाल्डाखुल्डी समेत टाल्न बजेट नपठाउने सरकारले कर्णालीमाथि अन्याय गरेको भन्दै कर्णालीवासीले गुनासो गर्दै आएका छन् । विनियोजित बजेट अपर्याप्त हुने,हरेक वर्ष निर्माण व्यवसायीलाई भुक्तानी दिनु पर्ने दायित्व नै बढी बाँकी रहने जस्ता समस्याले कर्णाली राजमार्गको स्तरोन्नति अपेक्षाकृत रुपमा हुन सकेको छैन ।
जुम्ला । जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)ले कर्णालीको लाईफ लाइन मानिएको कर्णाली राजमार्ग स्तरोन्नति नभएमा सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । आइतबार को प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले नेपाली भाषाको उद्गम स्थल सिंजा रारा ताल,जुम्ला चन्दननाथ जाने एक मात्र सडक कर्णाली राजमार्ग सुधारमा सरकारले ध्यान नदिँदा दुर्घटना बढ्नुका साथै नागरिकले समेत सास्ती पाएको उनको भनाई छ ।
कर्णाली राजमार्गको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा पर्याप्त बजेटको व्यवस्था नभए सरकारविरुद्ध आन्दोलन गर्छौ । उनले भने,‘सडक सञ्चालन भएको करिब दुई दशक भयो । खाल्डा खुल्डी पुरिएका छैनन् । धुलोले यात्रु बिरामी पर्ने अवस्था छ । सरकारले कर्णालीलाई सधैँ सौतेनी व्यवहार गरेको छ । अब चुप लागेर बस्दैनौ । बजेट व्यवस्थापन नभए सडक र सदनमा सशक्त आन्दोलन हुन्छ ।’
असुरक्षित राजमार्गकै कारण कर्णालीवासीको बाच्न पाउने अधिकार दुर्घटनाको कारण खोसिँदै गएकोले राज्य गम्भीर हुनुपर्नेमा जोड दिए । जुम्लाले स्याउ, सिमि,मार्सी धान, जडीबुटी लगायत उत्पादनबाट प्रदेशको समृद्धिमा टेवा दिनसक्ने भएकोले कर्णालीको विकासमा कन्जुसाई नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।







प्रतिक्रिया राख्नुहोस्