तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली विशेषतामा आधारित रहेर समाजवादको निर्माण गर्नुपर्छ: उपप्रधानमन्त्री यादव

काठमाडौँ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले नेपाली विशेषतामा आधारित रहेर समाजवादको निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

समाजवादी मोर्चाले आज यहाँ आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया’मा उहाँले असमानता, विभेदलाई अन्त्य गर्दै आर्थिक विकास र समृद्धिलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउनै पर्ने बताउनुभयो ।

उहाँले वर्तमान सरकारले सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो । वर्तमान शासन प्रणाली र निर्वाचन प्रणालीको परिवर्तन नगरी समाजवाद स्थापना हुन नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले त्यसका लागि सबै तयार हुनुपर्नेमा जोड दिनुभयो । 

सङ्घीयतालाई सबल बनाउन पनि सुधार जरुरी रहेको उहाँको कथन छ । जातीय, धार्मिक, सामाजिक विभेदलाई अन्त्य नगरिकन सामाजिक न्यायसमेत प्राप्त नहुने र समाजवाद समेत प्राप्त नहुने उहाँले स्पष्ट पार्नुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता राजन भट्टराईले समाजवाद कार्यान्वयन गर्नका लागि आर्थिक, सामाजिक विषयलाई ध्यान दिँदै विश्वका सफल उदाहरणको पनि अध्ययन जरुरी रहेको बताउनुभयो । 

समाजवादीका बीचमा एकता नहुँदा लामो सङ्घर्षपछि प्राप्त व्यवस्था र संविधानलाई कार्यान्वयन गर्न गत्यवरोध उत्पन्न भएको उहाँको भनाइ थियो । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली जनतालाई स्वास्थ्य शिक्षा, रोजगारीको सहज रुपमा प्रबन्ध गर्नका लागि नेपाली मौलिकताको समाजवाद स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । 

अधिवक्ता एकराज भण्डारीले नेपालको संविधानमा समाजवाद उन्मुख विशेषता उल्लेख गरिएको भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, पूर्वराजदूत महेशमान मास्के, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, प्राध्यापक डा खगेन्द्र प्रसाइँ, डा दिनेशराज भुजु, अधिवक्ता दीपेन्द्र झालगायतले नेपालको विशेषतासहितको समाजवादबारे आफ्नो धारणा राख्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button