जिम्मा लिएको काममा लापरबाही गर्नुहुँदैन : महानिरीक्षक अर्याल
सुनसरी । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल खटेका स्थानमा कुनै किसिमका गैरकानुनी क्रियाकलाप हुन नदिन र आफू पनि कुनै व्यक्तिगत लेनदेनमा सहभागी नहुन निर्देशन दिनुभएको छ ।
सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह वाहिनी मुख्यालयको २३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षा र राजस्व छली नियन्त्रणको काम गर्दै आएको बताउनुभयो । उहाँले सीमा क्षेत्रमा भएका सम्पूर्ण नराम्रो कामको जिम्मा त्यहाँ खट्नेहरूले लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा खट्नेहरूका लागि समस्या पनि धेरै छन् तर जिम्मा लिएको काममा कसैले लापरबाही गर्नु हुँदैन । जानीजानी गरेका गल्ती अपराध सरह हुन्छन् । कर्तव्य पालनाका सिलसिलामा भएका गल्ती भने सुधार्न सकिन्छ ।”
कार्यक्रममा सशस्त्र प्रहरी बल बराह वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले सशस्त्र प्रहरीलाई चुस्त, दुरुस्त र अनुशासित बनाउन शून्य सहनशीलता अपनाइएको बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीलाई पुरस्कार प्रदान गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्