तपाईँ सुन्दै हुनुहुन्छः

मेयर कप : धनुषा क्रिकेट टिम विजयी

जनकपुरधाम । जनकपुरधाममा जारी मेयर कप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा धनुषा क्रिकेट टिमले महोत्तरी टिमलाई ८ विकेटले पराजित गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ धनुषाको संयोजनमा हिजोदेखि शुरु भएको खेल अन्तर्गत आज बिहान भएको खेलमा महोत्तरीलाई धनुषाले ८ विकेटले पराजित गर्दै विजयी भएको हो ।

निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाको क्रिकेट खेल मैदानमा भएको पहिलो खेलमा महोत्तरीले ब्याटिङ गर्दै १५.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १० रन जोडेको थियो ।

१ सय ११ रनको लक्ष्यसहित प्रतिउत्तरमा ब्याटिङ गरेको धनुषा क्रिकेट टिमका खेलाडीहरूले १४.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पुरा गरे ।

हिजो भएको उद्घाटन खेलमा धनुषाले सर्लाही क्रिकेट टिमलाई पराजित गरेको थियो ।

आज भएको दोस्रो खेलमा सुरुमा ब्याटिङ गर्दै सिरहा क्रिकेट टिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन बनाएको छ । १ सय १६ रनको लक्ष्यसहित खेल मैदानमा उत्रेका सर्लाही क्रिकेट टिमले ब्याटिङ गरिरहेको छ ।

गत वर्षदेखि जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा शुरु भएको मेयर कपमा विजेता हुने टिमलाई २ लाख ५१ हजार नगद, कप र प्रमाणपत्र तथा उपविजेता टिमलाई १ लाख ५१ हजार नगद, कप तथा प्रमाणपत्र प्रदान गरिने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button