अध्यक्ष ओली आदित्य मोक्षधाम–काव्य गोष्ठीमा सहभागी
काभ्रेपलाञ्चोक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ दारिम बोटमा निर्माणाधीन आदित्य मोक्ष धामको अवलोकन गर्नुभएको छ । धामको अवलोकनपछि उहाँले तेस्रो मोक्षधाम काव्य–गोष्ठीमा सहभागिता जनाउनुभयो ।

गोष्ठीमा एमालेका उपमहासचिव एवम् साहित्यकार प्रदीप ज्ञवालीले ‘काष्ठमण्डपमा एक्लो परेवा’ शीर्षकमा कविता वाचन गर्नुभएको थियो । यस्तै गोष्ठीमा डा बुनु दाहाल, मुराहरि सिग्देल, रामप्रसाद पन्त, ममता मिर्दुला, विजयध्वज थापा, सुष्मा आचार्यलगायत १ं७ जना कवि एवं कवयित्रीले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो । प्रस्तुत कविता विशेषगरी आध्यात्मिक ज्ञान एवम् चैतन्य आदित्य (बाल योगी) को विचार–दर्शनसँग मिल्दाजुल्दा थिए ।
केही वर्षअघि ‘गुगल ब्वाई’ का रुपमा चर्चामा आउनुभएका आदित्य दाहाल हाल १४ वर्षको हुनुभयो । चार वर्षको उमेरदेखि ध्यान–साधनाको अभ्यास गर्न थाल्नुभएका आदित्यको सोही समयदेखि केही शारीरिक दुर्बलता रहेपछि परिवारद्वारा देश विदेशमा उपचारको प्रयास गरेपनि हुन सकेको थिएन । आदित्यकै नाममा गत वर्षदेखि पनौतीको दारिम बोटमा उक्त धाम निर्माण सुरु गरिएको थियो ।
उक्त कार्यक्रममा अध्यक्ष ओलीले संक्षिप्त मन्तव्य राख्दै चैतन्य आदित्यको दर्शन र विचार एवं गुरु विनाको सिकाइले विज्ञानलाई चुनौती दिएको बताउनुभयो । “आदित्यसँग अध्ययन एवं गुरु विना विभिन्न भाषामा ज्ञान, विचार, दर्शन लेख्न सक्ने अलौकिक क्षमता देखिन्छ, उहाँका सत्य विचार, सत्मार्ग, शान्ति र सुखका हितकारी चिन्तन् मननयोग्य पनि छन्” उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले निर्माणाधीन उक्त मोक्ष धाममा हाल भइरहेको धार्मिक गतिविधिको जानकारी समेत लिनुभयो । कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्