प्रसारण लाइन बिस्तारका लागि काटिएका काठ कुहिने अवस्थामा
नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीको बर्दघाट स्थित पूर्व–पश्चिम राजमार्ग किनारामा रहेको बर्दघाट सरावल सब डिभिजन (वन) कार्यालय परिसरमा घाटगद्धि (थुपारिएका)गरिएका झन्डै ७० लाख बराबरको काठ दाउरा कुहिन थालेको छ । समयमै लिलामी नहुँदा बर्दघाट सर्दि १ सय ३२ केभि प्रसारण लाइन विस्तारको क्रममा काटिएका काठ कुहिन थालेको हो ।

७ हजार ७ सय ५२ क्युफिट काठ र २६ चट्टा दाउरा दुई वर्षदेखि बर्दघाट सरावल सव डिभिजन कार्यालय परिसरमा घाटगद्धि गरिए पनि अझै लिलामी भएको छैन । सव डिभिजन कार्यालयका निमित्त वन अधिकृत चिन बहादुर यादवले काठ कटानको क्रममा पनि एकिन विवरण नभएको र पछि घाटगद्धि गर्ने क्रममा पनि प्राविधिकहरूले ढिलाइ गर्दा समस्या भएको बताउनुभयो ।
घाटगद्धिमा ठेकेदारले दिएको विवरण अनुसार रुजु गर्नुपर्ने भएकाले पनि लिलामीको काममा ढिलाइ भएको यादवको भनाई छ ।

काठ दाउरा लिलामीको अधिकार भने डिभिजन वन कार्यालय परासीलाई मात्रै छ । डिभिजन वन कार्यालय परासीले लिलामीको स्वीकृतिका लागी वन निर्देशनालय बुटवलमा पत्राचार गरिसकेको जनाएको छ ।

ठेकेदारले समयमै सही विवरणसहित हस्तान्तरण नगर्दा लिलामी प्रक्रियामा ढिलाइ भएको डिभिजन वन कार्यालय परासीका वन अधिकृत मेघनाथ काफ्लेले बताउनुभयो ।
साल, खयर लगायत जातका काठ समयमै लिलामी नहुँदा कुहिन थालेपछि बिक्री मूल्य पनि घट्दै गएको छ । जिल्लामा अन्यत्र पनि लाखौँका काठ कुहिने अवस्थामा रहँदा सम्बन्धित निकायले खासै पहल गरेको भने देखिँदैन ।







प्रतिक्रिया राख्नुहोस्