तपाईँ सुन्दै हुनुहुन्छः

प्लाइउड निकासीमा भारतले लगाएको अवरोध हट्यो

बाँके । दुई साता अघि एकाएक रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ । केहीवर्ष यता नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यातमा भारतले गरेको अवरोध हटाएको छ । भारत सरकारले प्लाइउड, बोर्ड र डोरमा एक वर्ष बिआइएस मापदण्डको लागि म्याद थप गर्ने निर्णय गरेका कारण अवरोध हटेको हो ।

नेपाली प्लाइउड इन्डस्ट्रीको लागी ठुलो राहतको निर्णय भएको जानकारी दिँदै बाँकेका ओम प्लाइका सञ्चालक पशुपति दयाल मिश्रले नेपाली प्लाइले उद्योगका लागि निकै ठुलो राहत दिएको हुँदा यो हाम्रालागि खुसीको कुरा भएको बताउनु भयो । माग बढेपछि प्लाइउड भारत निकासी गरिरहेका नेपाली उद्योग सञ्चालक भारतले निकासी खुल्ला गरेसँगै खुशी भएका छन् ।

गतबर्ष ओम प्लाइले मात्रै ४ करोड बढीको प्लाइ भारत निकासी गरेको थियो भने शिखरले मात्रै गत वर्ष साढे २ करोडको प्लाइ नेपालगन्ज नाकाबाट भारत निकासी गरेको थियो। 

भारत सरकारको निर्णयसँगै नेपाल–भारत नाकापारि रुपैडिहास्थित भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सिर्जना गरेपछि पश्चिमको सबैभन्दा ठुलो नाका नेपालगन्जबाट प्लाइउडको निकासी मार्च १ तारिख देखि रोकिएको थियो ।

भारत सरकारले गत भदौ १४ मा राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी फेब्रुअरी २८ पछि प्लाइउडमा बिआइएस प्रमाण अनिवार्य गरिएको जनाएको थियो । सोही सूचना रद्द गर्दै शुक्रवारदेखि एक वर्षका लागि म्याद थप्ने निर्णय गरिएको हो । सम्बद्ध उद्योग सञ्चालकका अनुसार, भारतको वन मन्त्रालयले आगामी ५ वर्षसम्म वन कटान नगर्ने र जङ्गल संरक्षण गर्ने नीति अघि सारेपछि नेपालबाट प्लाइउड आयात गरेर त्यहाँको माग धान्दै आएको छ ।

शिखर प्लाई उद्योगका सञ्चालक चम्पालाल बोथराले गुणस्तर प्रमाण चिह्न अनिवार्य गरिँदा रोकिएको निर्यात अब सुचारु हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल सरकारसँग आवश्यक समन्वय गरेर भारत सरकारले गरेको निर्णयले उत्पन्न समस्या तत्काल समाधान गर्न व्यवसायीले माग गर्दै आएका थिए ।

नेपालबाट गत वर्ष पौने ५ अर्बको प्लाइउड निकासी गरिएको थियो । नेपाल प्लाइउड सङ्घले यो वर्ष करिब ८ अर्बको प्लाइउड निकासी गर्ने लक्ष्य व्यवसायीको रहेको छ । भारतमा नेपाली प्लाइउडको माग उच्च छ, सरकारले सहजीकरण गरेर अवरोध दीर्घकालीन रुपमा हटाउन पहल गर्नुपर्ने बोथराको भनाई रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button