अहिलेको गठबन्धन देशको आवश्यकता : एमाले महासचिव पोखरेल

वीरगंज । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अहिलेको गठबन्धन देशको आवश्यकता भएको कुरामा जोड दिनु भएको छ ।
उहाँले विगतको गठबन्धनको सरकारले मुलुकको विकास र समृद्धिको यात्रालाई अवरुद्ध पारेर मुलुकको अर्थतन्त्र धारासायी बनाएको आरोप समेत लगाउनुभयो ।
नेकपा एमाले पर्सा जिल्ला कमिटीको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकको आज वीरगंजमा उद्घाटन गर्दै महासचिव पोखरेलले समृद्ध नेपाल र सुखी नेपालको राष्ट्रिय अभिभारा पुरा गर्नका लागि अहिलेको गठबन्धन सरकार प्रतिबद्ध भएर लाग्नु पर्ने कुरामा जोड दिनुभयो ।
विगतमा स्वार्थहरूको गठबन्धन सरकार बनेको हुँदा जनताका पक्षमा काम नभएको जिकिर गर्दै अहिले बनेको सरकार स्वार्थीहरूको गठबन्धन नभई नीतिगत श्रेष्ठताका आधारमा बनेको हुँदा यसले जनताको पक्षमा काम गर्न सक्ने दाबी गर्नुभयो ।

उहाँले देशको स्वाधीनता, स्वाभिमान, राष्ट्र हितको पक्षमा एमाले सदैव खरो उत्रिएको बताउँदै एमाले सत्ताको खेलमा लाग्न नखोज्दा समेत अहिले बाध्य नयाँ जगमा गठबन्धन सरकार बनाउन बाध्य भएको बताउनु भयो ।
महासचिव पोखरेलले जनताको चाहना पुरा गरी मिसन ८४को महाअभियान पुरा गर्ने दिशामा नेकपा एमाले अगाडी बढी रहेको बताउँदै मधेश प्रदेशमा समेत एमालेको बहुमतको सरकार बन्ने दाबी गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज एवं केन्द्रिय सचिव योगेश भट्टराईले समृद्ध मुलुक निर्माणका लागि आर्थिक–सामाजिक विकास र रूपान्तरणको कामलाई तीव्रता दिनु पर्ने कुरामा जोड दिनुभयो ।
नेकपा एमाले पर्साका अध्यक्ष डा.विश्वम्भर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, चन्देश्वर मण्डल, प्रदेश कमिटी उपाध्यक्ष विचारी यादव, सचिव मनोज पौडेल, सांसद राज कुमार गुप्ता लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्