ललितपुर बार र नेप्काको आयोजनामा सञ्चालित मध्यस्थतासम्बन्धी तालिम सम्पन्न
ललितपुर । ललितपुर बार एसोसिएसन र नेपाल मध्यस्थता परिषद् (नेप्का)द्वारा आयोजित पाँच दिने मध्यस्थता सम्बन्धि तालिम सम्पन्न भएको छ ।

ललितपुर बारको हलमा २०८०/११/२४ देखि सञ्चालन भएको तालिम आज २८ गते सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको प्रमुख आतिथ्यतामा समापन भएको हो ।
तालिमका प्रमुख अतिथि प्रधानले मध्यस्थता भनेको विवाद समाधानको वैकल्पिक उपाय भएको र यसबाट स्वच्छ न्यायको कल्पना गरिने बताउनुभयो । मध्यस्थताबाट भएको निर्णयको कार्यान्वयनमा जटिलता भएको र यदि कार्यान्वयन नभएमा त्यससम्बन्धी विश्वास गुम्ने समेत बताउनुभयो । यसको लागि थुप्रै राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय कानुन, पक्षहरूबिच भएका करारलाई हेरिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि नेपाल बारका महासचिव अञ्जिता खनालले आफूले सिकेका कुराहरूलाई प्रयोगमा ल्याउन र सदुपयोग गर्न आग्रह गर्नुभयो । साथै तालिम सबैलाई जरुरी भएकोले सबैले लिनुपर्ने तर लिएपछि सदुपयोग गरि समाजमा देखिएका विवाद निरुपण गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठले तालिममा सिकेका कुराहरूको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संविधानसभाका सदस्य रामनारायण बिडारीले वकालत र मध्यस्थता एकैचोटि अगाडि बढ्न नसक्ने तर कानुन व्यवसाय नियमित अदालतबाट र मध्यस्थता विवाद समाधानको वैकल्पिक उपाय भएको र यसले पनि न्यायको काममा सहज बनाउने बताउनुभयो ।
सहभागीहरूका तर्फबाट मदन पुन र सुलोचना बज्राचार्यले तालिम एकदमै राम्रो फलदायी भएको र तालिममा सिकेका कुराहरूको व्यवहारमा पनि प्रयोग गर्ने भनाई राख्नुभएको थियो ।

तालिममा विभिन्न बारमा आबद्ध ५८ कानुन व्यवसायीहरू सहभागी भई दीक्षित हुनुभयो । लगातार पाँच दिनसम्म चलेको तालिममा व्यवहारिक ज्ञानसहित १५ वटा कक्षाहरू सञ्चालन भएका थिए । तालिममा मध्यस्थता सम्बन्धि विभिन्न विषयहरूमा विज्ञहरूले प्रशिक्षण दिनुभएको थियो । आज दीक्षित भएका सबै मध्यस्थकर्ताहरूले विवादका पक्षहरूले वाणिज्य तथा देवानीसम्बन्धी विवादमा मध्यस्थतामार्फत विवाद समाधान गर्न चाहे र रोजेमा निर्णय दिन सक्नेछन् ।
‘मध्यस्थता विवाद समाधानको वैकल्पिक एक उत्कृष्ट विधि हो । पक्षहरूबिच कुनै विषयमा विवाद भई समाधान हुन नसकेमा र उनीहरू छिटोछरितो ढङ्गबाट अदालत बाहिरैबाट समस्या समाधान गर्न चाहेमा योग्य मध्यस्थकर्ताद्वारा विवाद समाधान गर्न सक्नेछन् ।’ जसका कारण अदालतमा मुद्दाको चाप समेत घट्ने नेप्काका महासचिव बाबुराम दाहालको भनाई छ ।

नेप्काका अध्यक्ष डा राजेन्द्र प्रसाद अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश ऋषिराम आचार्य, नेप्काका महासचिव बाबुराम दाहाल, वरिष्ठ अधिवक्ता सानुभाई शाक्य, नेपाल बारका कार्यसमिति सदस्य रूपबहादुर शारु, अधिवक्ता मङ्गल महर्जन, ललितपुर बारका अध्यक्ष राम श्रेष्ठ, अधिवक्ता कृष्ण सुवेदी, नेपाल ल क्याम्पसका स्वबियु सभापति विष्णु ढुङ्गेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
ललितपुर बारले समय समयमा तालिम लगायत विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्