झापा गोल्डकप : एपीएफ सेमिफाइनलमा
झापा । टाई ब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लब झापाको बिर्तामोडमा जारी छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एपीएफले आज भएको पहिलो क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।

एपीएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदीप कार्की र प्रदीप लामाले गोल गरे भने बागमतीका अभि लामा, विमल घिसिङ र दिवस लिम्बूले गोल गरे । निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले विफल बनाएका थिए ।
सि डिभिजनको बागमती युथ क्लबले झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको हो । बाई पाएर क्वार्टर फाइनल खेलेको बागमतीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्धारित समयमा स्कोर गर्न भने सकेन ।
खेलको प्लेयर अफ द म्याच एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ नगद पुरस्कार पाए ।
भोलि मङ्गलवार दोस्रो क्वार्टर फाइनल खेल एनआरटी फुटबल क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबिच हुने आयोजक झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्