तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर भ्रमण वर्षमा ७ लाख पर्यटक भित्र्याउने लक्ष्य 

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । भ्रमण वर्षको  यही फागुन १८ गते प्रधानमन्त्री उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भ्रमण वर्षमा करिब २ लाख बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरले लक्ष्य लिएको छ ।  महानगरपालिकाले  आज (मङ्गलवार) पत्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी किनारमा  गरिने जानकारी दिएको हो । 

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदी किनारमा भव्य समारोहका बीच दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश  सांसदहरूलगायत तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । 

करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा राष्ट्रिय कलकारहरूको प्रस्तुति रहनेछ भने, विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ । सो अवसरमा बोल्दै महानगर प्रमुख रेनु दाहालले महानगरपालिकाका २९ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातीय समुदाय, विभिन्न सामाजिक सङ्घसंस्था, नागरिक समाज, विभिन्न जातजातिहरू सांस्कृतिक झाँकीसहित सहभागी हुने जानकारी दिनुभयो  ।‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिति तथा ७ सदस्यीय निर्देशन समिति गठन गरिएको छ । 

यस्तै महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू संलग्न सल्लाहकार समिति, विभिन्न ३० वटा विषयगत उपसमितिहरू गठन गरी कार्य विभाजनसहितको जिम्मेवारी प्रदान गरिएको छ । भ्रमण वर्षको तयारीका सन्दर्भमा विभिन्न राजनीतिक, दल, बुद्धिजीवी, समाजसेवी, निजी क्षेत्रलगायत सरोकारवाला सबैसँग पटक पटक छलफल तथा अन्तरक्रिया गरिसकिएको  उहाँले बताउनु भयो । भरतपुर भ्रमण वर्ष २०२४ को मुख्य प्रवर्धक नेपाल पर्यटन बोर्ड रहेको छ ।

महानगरका गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, पर्यटकको सङ्ख्या र बसाइँ अवधि वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको भ्रमण वर्षले यस आसपासका क्षेत्रहरूको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरिएको महानगरपालिका प्रमुख दाहालले बताउनुभयो ।

भरतपुर भ्रमण वर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाइमा वर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरू सञ्चालन हुनेछन् । पर्यटकले भरतपुर भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरूको अवलोकन, यहाँका सम्भावनाहरूको पहिचान, तथा बद्लिएको भरतपुरको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा राखिएको उपप्रमुख अधिकारीले बताउनुभयो ।

भरतपुरलाई चिनाउँदै यहाँको आर्थिक सम्भावनाको खोजी, लगानीको वातावरण निर्माण गर्न पनि भ्रमण वर्ष कोशेढुंगा सावित हुने अपेक्षा गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो । 

भ्रमण वर्षमा आउने पाहुनाहरूलाई सेवा प्रदान गर्न महानगरपालिकाभित्र होटलहरुमा ७ हजार ५ सय बेड र सौराहादेखि गैँडाकोटसम्म १५ हजार बेड तयारी अवस्थामा राखिएको महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिनुभयो । भ्रमण वर्षमा आउने पाहुनाहरूलाई लक्षित गरी होटल तथा रेष्टुरेन्टहरुले छुट सुविधा यसअघि नै घोषणा गरेका छन् । 

भ्रमण वर्ष भरी सञ्चालन गरिने विविध गतिविधिहरूले समग्र चितवनलाई नै पर्यटकीय तथा आर्थिक हबका रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा पनि लिइएको छ । भ्रमण वर्षको उद्घाटन समारोहलाई सफल बनाउन घरघरबाट सहभागी हुन चितवनवासीलाई भरतपुर महानगरपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button