तपाईँ सुन्दै हुनुहुन्छः

च्याउ खेतीबाट मनग्य आम्दानी गर्दै देवबहादुर बुढा 

सल्यान । सल्यानको शारदा नगरपालिका १ श्रीनगरका देवबहादुर बुढा व्यावसायिक कन्ये च्याउ खेतीबाट मनग्य आम्दानी गर्दै आइरहनुभएको छ । 

कृषि पेशाबाट गाउँमै केही गर्न सकिन्छ भनेर लागिपर्नुभएका बुढाले च्याउ खेतीबाट दैनिक  ८ हजारदेखि ९ हजार रुपैयाँसम्म आम्दानी गर्दै आइरहनुभएको छ । 

देव बहादुरले दैनिक ४५ देखि ५० किलो च्याउ उत्पादन गर्दै आइरहनुभएको छ  । उहाँले भन्नुभयो “केही गर्छु भन्ने इच्छाशक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले नै छेक्दो रहेछ । मात्र काम गर्ने जोस, जाँगर चाहिँदो रहेछ ।”

स्थानीय स्तरमै च्याउ खेती गरेर स्थानीय उपभोक्तालाई ताजा च्याउ उपभोग गराउने उद्देश्यले नै च्याउ खेती गरेको उहाँले बताउनुभयो । तीन टनेलमा १ हजार २ सय बलबाट च्याउ उत्पादन गर्दै आइरहनुभएका बुढालाई बिक्री गर्न बजारसम्म जानु नै पर्दैन । व्यापारी नै टनेलमा आएर लिने गरेका छन् । उहाँले भन्नुभयो, “मसँग १ हजार दुई सय च्याउका बल छन् तीबाट दिनमा ४५ देखि ५० किलोसम्म च्याउ उत्पादन हुन्छ । बिक्री गर्न बजार खोज्दै अहिलेसम्म हिँड्नुपरेको छैन व्यापारी आफै आएर लिने गर्दछन् ।”

व्यापारीलाई थोकमा १ सय ८० रुपैयाँ किलो र फुटकरमा २ सय रुपैयाँ किलो बिक्री गर्ने गरेको उहाँको भनाई छ । १ बलबाट तीन पटकसम्म च्याउ निकाल्न मिल्ने र एक बलबाट तीनदेखि चार किलोसम्म च्याउ उत्पादन हुने गरेको छ । १ बल बनाउन ९० देखि एक सय रुपैयाँसम्म लगानी लाग्ने गरेको बुढाको भनाई छ । मासिक दुई लाख ५० हजारसम्म आम्दानी हुने बताउँदै पराल किन्न, घरखर्च चलाउन, बल भर्न मजदुर लगाउँदा पनि १ लाख जति खर्च हुने गर्दछ । 

पाँच हजार बल पुर्‍याउने लक्ष्य 
तीन वर्ष अघिदेखि व्यावसायिक च्याउ खेती गर्दै आउनुभएका बुढाले अर्को वर्षदेखि ५ हजार बल पुर्‍याउने लक्ष्य लिएको बताउनुभयो । अहिले १ हजार २ सय बलबाट राम्रो आम्दानी भइरहेकाले अर्को वर्षदेखि खेतीमा वृद्धि गर्ने सोच बनाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य कृषिजन्य बस्तुहरू जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता भएता पनि च्याउमा पनि जिल्ला बाहिरबाट ल्याउनु नपर्ने उहाँको भनाई छ । अहिलेसम्म दाङबाट च्याउ बजारमा आइरहे पनि स्थानीय उत्पादनले बजार पाइरहेको बुढाले बताउनुभयो । 

६० वर्ष उमेर पुग्दासम्म १ करोड रुपैयाँ कमाउने धेय 
अहिले ४५ वर्ष पुग्नुभएका बुढाले ६० वर्षको उमेर पुग्दासम्म १ करोड रुपैयाँ कमाउने आफ्नो धेय राखेको बताउनुभयो । यही च्याउ खेतीबाट नै अबको १५ वर्षमा १ करोड कमाउने लक्ष्य राखेको उहाँले बताउनुभयो । च्याउ, तरबुजा र खरभूजा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने आफूमा विश्वास समेत रहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button