नेपाल र संयुक्त राष्ट्रसंघबीच घनिष्ठ सम्बन्ध रहेको छ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राष्ट्रसंघका अन्डर सेक्रेटरी जनरल एण्ड द यूएन हाइ रिप्रिजेन्टेटिभ फर डिसआरमेन्ट अफेयर्स इजुमी नाकामित्सुलेले रक्षा मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।
शिष्टाचार भेटमा उपप्रधानमन्त्री खड्काले नाकामित्सुलाई स्वागत गर्नुहुँदै संयुक्त राष्ट्रसङ्घबाट भएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो।

सो अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले नेपाल र संयुक्त राष्ट्रसंघबीच ज्यादै घनिष्ठ सम्बन्ध रहेको, नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेदेखि नै संयुक्त राष्ट्रसङ्घको कार्यक्रमहरूमा सहभागी हुँदै आएको र संयुक्त राष्ट्रसङ्घको बडापत्र एवं जिम्मेवारीप्रति प्रतिबद्ध रहेको कुरा उल्लेख गर्नुभयो ।
विश्व शान्ति कायम गर्ने संयुक्त राष्ट्रसङ्घको उद्देश्य प्राप्तिमा नेपाल सक्रियतापूर्वक लागि रहेको र यसै सन्दर्भमा विश्वका १२ राष्ट्रका १३ वटा मिसनमा छ हजारभन्दा बढी शान्ति सैनिक परिचालन गरी महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको कुरा उल्लेख गर्नुभयो।
उहाँले नेपालले लैङ्गिक हिंसा तथा यौन दुर्व्यवहारमा शून्य सहनशीलताको नीति लिएको कुरा समेत व्यक्त गर्नुभयो । शान्ति सैनिकको क्षमता एवं अनुशासनमा विशेष जोड दिँदै उहाँले उच्च स्तरको कार्य सम्पादनको लागि नेपालले तालिम तथा क्षमता अभिवृद्धिमा विशेष जोड दिएको कुरा उल्लेख गर्नुभयो ।

उहाँले नेपाल सधैँ निशस्त्रीकरणको पक्षमा रहेको र त्यसका लागि संयुक्त राष्ट्रसंघले अघि बढाएका अधिकांश उपकरणप्रति नेपाल प्रतिबद्ध रहेको र केही उपकरणहरूको सन्दर्भमा नेपाल पक्ष राष्ट्र भइसकेको बताउनुभयो। उहाँले यससँग सम्बन्धित राष्ट्रिय कानुनहरूको निर्माणमा समेत नेपाल अघि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले शान्ति तथा निशस्त्रीकरण सम्बन्धी काठमाडौँमा रहेको क्षेत्रीय केन्द्रलाई क्रियाशील बनाउन र काठमाडौँ प्रोसेसमार्फत क्षेत्रीय शान्ति प्रवर्द्धनमा अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
सो अवसरमा संयुक्त राष्ट्रसंघका नाकामित्सुले नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति प्रवर्द्धनसम्बन्धी कार्यक्रमका लागि उपयुक्त स्थान भएको कुरामा जोड दिनुहुँदै संयुक्त राष्ट्रसंघले विश्व शान्ति एवं निशस्त्रीकरणमा नेपालसँग मिलेर थप कार्य गर्न चाहेको कुरा उल्लेख गर्नुभयो। उहाँले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमार्फत विश्व शान्ति स्थापनामा खेलेको भूमिका एवं नेपाली सेनाको उत्कृष्ट कार्य सम्पादनको प्रशंसा गर्नुभयो। उहाँले संयुक्त राष्ट्रसंघले अघि बढाएका विश्व शान्ति एवं निशस्त्रीकरणसम्बन्धी प्रयत्नहरूमा नेपाल थप क्रियाशील रहने आशा व्यक्त गर्नुभयो।
शिष्टाचार भेटका अवसरमा रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी, परराष्ट्र मन्त्रालयका अधिकृत साथै, संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्