तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो बहस : पञ्चेश्वर परियोजना कार्यान्वयनमा स्थानीयको जोड

बैतडी । पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयनमा स्थानीयहरूले जोड दिएका छन् ।

बुधवार रेडियो नेपालद्वारा बैतडी जिल्ला सदरमुकाम गोठलापानीमा आयोजित स्थलगत रेडियो बहस कार्यक्रमका सहभागीहरूले त्यस विषयमा जोड दिएका हुन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले नेपाल र भारतको मन्त्रीपरिषद्को बैठकबाट निर्णय गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । उक्त आयोजना नेपाल र भारतको भविष्यसँग गाँसिएकाले जलश्रोतको उपयोगमा दुवै देशले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य लिलाधर भट्टले सकारात्मक सोचबाट मात्रै राष्ट्रको अर्थतन्त्र मजबुद हुने हुँदा त्यसतर्फ आमसञ्चार माध्यम चनाखो हुनुपर्ने बताउनुभयो ।

बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नेपाल सरकारले पञ्चेश्वर आयोजना कार्यान्वयनका लागि निर्णय गरिसकेको र मित्र राष्ट्र भारत सरकारबाट पनि निर्णय भई ब्रेक थ्रुको अवस्थामा रहेको जानकारी दिनुभयो ।

दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशीला चन्दले परियोजना कार्यान्वयनका लागि सबै राजनैतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय बासिन्दा, राजनैतिक दल, सुरक्षाकर्मी, नागरिक समाज, पत्रकार लगायत सरोकारवाल निकायको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण रेडियो नेपालका मुख्य कार्यक्रम अधिकृत उद्धव चुवागडीले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button