तपाईँ सुन्दै हुनुहुन्छः

दूधले बजार नपाउँदा किसान मर्कामा

नवलपरासी । उत्पादित दूधले बजार नपाउँदा यतिबेला पश्चिम् नवलपरासीका किसान निकै मर्कामा परेका छन् । स्थानीय स्तरमा खुलेका सामुदायिक दुग्ध सहकारीहरूले सङ्कलन गरेको दूधले बजार नपाउँदा किसानले दूध फिर्ता लानु पर्ने अवस्था आएको छ । बर्दघाटको चौपत्तामा रहेको लुम्बिनी प्रदेशकै ठूलो दुग्ध सहकारी मध्येको चन्द्रोदय सहकारी सहित अन्य सहकारीले सङ्कलन गरेको दूध खपत हुन सकिरहेको छैन।दूध खपत नहुँदा किसानलाई नै फिर्ता पठाउनु परेको बताउनु हुन्छ चन्द्रोदय दुग्ध सहकारीका व्यवस्थापक बिष्णु पाण्डे । यो सहकारीमा झन्डै तीन हजार किसान आबद्ध रहेका छन् ।

यहाँको भुजहवा, खैरेटवा, बसहिया लगायत पश्चिम् नवलपरासीमा १० वटा शाखाहरूबाट चन्द्रोदय दुग्ध सहकारीले किसानको उत्पादित दूध सङ्कलन गर्दै आइरहेपनी बजारीकरणको समस्याले किसानले दूध फिर्ता लानु परेको छ । दूधलाई कन्भर्जिङ गरि पाउडर बनाएपनी पाउडर समेत बिक्री नभएपछि सहकारीहरू समेत समस्यामा परेका छन् ।

“हामीले दूध नबिकेपछि काठमाडौँ लगेर कन्भर्जिङ गरि पाउडर बनायौ तर ३० क्विन्टल पाउडर दूध समेत गोदाममै थन्किएको छ” पाण्डेले रेडियो नेपाल सँग भन्नू भयो ।यहाँ बाट दूध लैजाने सबै ठुला डेरी कम्पनीले उपकरण मर्मत चलेको बताएका कारण दूध लिन असमर्थ भएको बताउने गरेको पाण्डेले बताउनुभयो । दूध बिक्री हुने मुख्य सिजन नै असोज देखि भएपनी सोही महिना देखि बिक्री हुन छाडेको पाण्डेको भनाई छ ।

महँगोमा दाना चापट खरिद गरेर उत्पादन गरेको दूध पटक पटक फिर्ता लैजानु पर्दा  लगानी समेत नउठ्ने हुँदा चर्को ब्याजमा ऋण लिएर थालिएको पशुपालन ब्य्वसाय  बाट आफू विस्थापित हुनु पर्ने अवस्था आएको बर्दघाट १४ का कृषक मिलन प्रसाद जैसी को गुनासो छ ।उनी मात्रै होइन जिल्लामा दूध उत्पादन गर्ने सयौँ किसान विस्थापित भइरहेका छन् । लाखौँ रकम लगाएर निर्माण गरिएका किसानका सयौँ गोठ अहिले खाली छन् । केही वैदेशिक यात्रामा छन् भने केही अरू पेसा अँगालिरहेका छन् ।

केही स्थानीय तहले उत्पादनका आधारमा किसानलाई अनुदान दिएपनी उत्पादित दूधको बजारीकरणका लागि यो पटक मात्रै होइन पटक पटक किसानले समस्या झेल्दै आइरहेका छन्  नवलपरासीका प्राय सबै स्थानीय तहमा दूध उत्पादन हुने हुँदा किसानका निम्ति यहाँ सबै स्थानीय तह मिलेर ठोस योजना ल्याउनु पर्ने बताउनु हुन्छ बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ ।

यहाँको दूध काठमाडौँ,भक्तपुर,चितवन,पोखरा लगायतका शहरमा पठाउने गरिएको छ।बजारीकरण हुने गरेकोमा बिक्री ठप्प हुँदा सस्तो मूल्यमा बिचौलियाले नै दूध माग्ने गरेको हुँदा बजारीकरण को किर्तिम अभाव बनाइएको हुन सक्ने सहकारीहरूले आशङ्का गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button