इलामको रोङ गाउँपालिकाले ल्यायो विद्यार्थी बचत खाता सञ्चालनमा
इलाम । इलामको रोङ गाउँपालिकाले विद्यार्थी बचत खाता सञ्चालनमा ल्याएको छ । पालिकाले प्रत्येक विद्यार्थीको बैङ्क खाता खोलेर दैनिक कम्तीमा १ रुपैयाँ बचत सुरु गरेको हो ।
विद्यार्थीहरूलाई विद्यालयमा रहँदा सानै उमेर देखि बचत गर्दा बालबालिकामा बचतको संस्कारसहित वित्तीय ज्ञान समेत विकास हुने भएकोले यो अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताउनुभयो । उहाँले भन्नुभयो “अध्यक्षसँग विद्यार्थी कार्यक्रम अन्तर्गत गाउँपालिकाले ‘विद्यालयमा आधारित उद्यमशीलता कार्यक्रमको कार्यविधि –२०८०’ तयार गरेको छ र विद्यालयका विद्यार्थीले अनिवार्य रुपमा बैङ्कमा खाता खोल्नुपर्ने नियम ल्याइएका छौँ ।”
पालिका अध्यक्ष स्याङ्बोले बचत रकम जम्मा गर्न प्राइम कमर्सियल बैंकसँग सम्झौता गरेको जानकारी दिनुभयो । प्राइम कमर्सियल बैङ्कमा पालिकाकाले विद्यालयसँग समन्वय गरेर नर्सरीदेखि कक्षा १२ सम्मका सबै विद्यार्थीको बचत खाता खोलिसकेको छ ।
गाउँपालिकाले बनाएको कार्यविधि अनुसार बैङ्क खातामा गाउँपालिकाले विद्यार्थीहरू विद्यालयमा उपस्थित भएको दिनको आधारमा दैनिक एक रुपैयाँका दरले बचत गरिदिने छ। यसमा विद्यार्थीहरूले समेत नियमित बचत गर्नुपर्ने नियम पालिकाले बनाएको छ । विद्यार्थीले दैनिक एक रुपैयाँ वा सो भन्दा बढी पनि बचत गर्न सक्ने छन् । विद्यार्थीको बचत भने विद्यालयले नै सकंलन गरेर बैङ्कमा जम्मा गर्नु पर्ने नियम बनाइएको छ । पालिकाले प्रत्येक ३ महिनामा विद्यार्थीको उपस्थितिको आधारमा एक मुष्ट रकम जम्मा गर्ने छ ।
यसमा बैंकले पनि प्रत्येक विद्यार्थीको खाता खोल्दा खातामा १०० रुपैयाँ दरले रकम जम्मा गर्ने गरी गाउँपालिकासँग सम्झौता गरेको छ ।
अध्यक्ष स्याङ्बोले छात्रावृत्तिको लागि हरेक बर्ष ठूलो बजेट खर्च हुने भए पनि विद्यार्थीहरूले आवश्यकताअनुसार पर्याप्त सहयोग नपाउने भएकाले गाउँपालिकाले बैङ्क खाता खोलेर विद्यार्थीहरूको बचत सुरु गरेको बताउनु भयो ।
यसरी बचत हुँदा विद्यार्थीमा बचतको बानी र ज्ञान हुने तथा विद्यालय शिक्षा पछि उच्च शिक्षा लिन पनि आर्थिक सहयोग मिल्ने भएकोले विद्यार्थी अभिभावक सबै हर्षित भएका छन् ।
हाल ३० वटा सामुदायिक विद्यालयमा अध्ययनरत २ हजार ५ सय बराबर विद्यार्थीहरूले बचत गर्न थालिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्